“हैन् , के गरेको हो?”, ईशाले आश्चर्य मान्दै सोधिन्।
उसले हत्तपत्त हातको लाइटर खल्तिमा राख्यो।
“हजुर के लिनुहुन्छ ?”, आशातीत भावमा हामीलाई सोध्यो।
केही फलफूल किनौँ भनेर हामी उसको ठेलानिर पुगेका थियौँ।
“लिइहाल्नुस् हजुर।मिलाएर दिइहाल्छु।कति लिनुहुन्छ हजुर ?”, उसले शिष्टतापूर्वक आग्रह गर्यो।
ठेलामा रहेका फलफूल हेर्दै ईशाले भाउताउ गरिन्।
हामीलाई चाहिने फलफूलहरु ईशाले छान्दै प्लाष्टिक थैलामा राखिन् र तौलाइन्।
पैसा तिर्दै गर्दा ईशाले पुनः प्रश्न गरिन् ,”हैन् ,अघि लाइटर बालेर यी फलफूलमा के गर्दै थियौ ?”
“हजुर धेरैबेरदेखि कुर्दा पनि कोही ग्राहक आएको थिएन त्यसैले…… “, उसले वाक्य पुरा गरेन।
“अनि ?” अझ जिज्ञासु बनिन् ईशा।
“कसैको नजर लागेर पो हो कि? भनेर लाइटर बालेर फलफूललाई छुवाएको नि हजुर।”,उसले प्रष्ट पार्न खोज्यो।
“त्यस्तो पनि हुन्छ र ?”,आश्चर्य मिश्रित नयन म तर्फ सोझ्याइन् ईशाले।
“तब न हजुरले फलफूल लिइहाल्नु भयो।मेरो बैना भै हाल्यो।”,मन्द मुस्कान सहित उसले कृतज्ञ भाव व्यक्त गर्यो।
प्रतिक्रिया