जनतलाई सरल र सहज रुपमा सेवा प्रवाह गर्नुपर्छ–नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष भुषाल

इनेप्लिज २०७९ फागुन ९ गते १२:३० मा प्रकाशित

विराटनगर, ९ फागुन । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहज रुपमा सेवा प्रवाहमा संगठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश नं १ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिनु भयो

उपाध्यक्ष भुसालले विगतको सरकारले सङ्घीय निजामती ऐन सङ्घीयताको मर्म विपरित ल्याउन लागेको बताउँदै संसदद्वारा राज्य व्यवस्था समितिमा पठाइएको व्यापक भै छलफल भै मतदानद्वारा पास भएकोमा ऐन आउन नसकेमा दुःख व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो– अहिले सङ्घीय निजामती सेवा ऐन आउनु पर्छ र त्यसमा कर्मचारीहरुको हक हित एवं सामुहिक सौदावाजी गर्ने ट्रेड यूनियनका अधिकार समावेश हुनुपर्छ ’ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा ऐन स्विकार गर्न आग्रह गर्दै यसबाट कर्मचारीतन्त्रमा देखिएका समस्या आधा समाधान हुने विश्वास जनाउनु भयो ।

उहाँले सबैकुरा ऐनमा एकै पटक नआए पनि यसलाई क्रमशः सुधार गर्दै लैजाने सकिने भएको धारणा राख्नु भयो ।

मन्त्री मोदीले कर्मचारीभित्र देखिएका विकृति र विसंगति र भ्रष्टाचारको अन्त्य गर्न प्रतिवद्ध रहेको चर्चा गर्दै सम्पूर्ण निजामती कर्मचारीको अभिभावक भएको आधारमा न्यायतढङ्गले कर्मचारीहरुको क्षेत्रमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले सुशासन कायम र जनताको समृद्धिका लागि कसैको कुरालाई नसुनि नीतिगत अनुसार निजामती सेवाका २५ जना अधिकृततहकबाट वढुवा भएका उपसचिवलाई स्थानीय तहमा सरुवा गरेको जानकारी दिनु भयो ।

संगठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफेले, संगठनका केन्द्रीय उपाध्यक्ष अम्वादत्त भट्ट, केन्द्रीय सचिव लोकेन्द्र चौलागाई,प्रदेश अध्यक्ष नरमाया भट्टराई लगायतले अधिकृत र सुव्वा तहमा तलवमा रहेको विभेद हटाउनु पर्ने सुझाव दिनु भएको थियो ।

सोही अवसरमा पूर्वमन्त्री भुषालले संगठनद्वारा प्रकाशित ‘लाली किरण’ पुस्तकको विमोचन गर्नु भएको थियो ।

प्रदेश सम्मेलनमा १४ जिल्लाका संगठन आवद्ध कर्मचारीहरुको सहभागिता र आज नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया