ग्रामीण क्षेत्रमा अझै कायम छ कुस्तीप्रतिको मोह

इनेप्लिज २०७९ फागुन ७ गते १६:२६ मा प्रकाशित

रौतहट

रौतहटको मौलापुर नगरपालिका ५ स्थित मधानी महोत्सवको अन्तिम दिन नेपाली र भारतीय कुस्तीबाजको भव्य कुस्ती प्रतियोगिता भएको छ । दुवै देशका दर्जनौँ पहलवानको कुस्ती मनोरंजक र उत्तेजक रहेको दर्शकहरुले बताएका छन् ।

भारतको बिहार र उत्तर प्रदेशका विभिन्न पहलवानका साथै मध्यप्रदेशबाट बाबा नायक, काला तोता, बगड, भीम, सन्तोष, पिन्स, कल्लु पहलवानले मेलामा प्रतिस्पर्धा गरेका छन् । यसै गरी राजस्थानका ठाकुर जल्लाद सिंह, सुरेन्द्र सिंह ठाकुर, ठाकुर भुपेन्द्र सिंह, सैतान सिंह, अजित, मंगल तथा जितेन्द्र पहलवानले कुस्ती प्रतियोगितामा गज्जबको खेल प्रदर्शन गरेका छन् ।

कुस्तीमा नेपालका खेलाडीहरु बुनीलाल, मुक्तान, ब्रह्मदेव, देवा थापा लगायतले सहभागिता जनाउँदै खेल प्रदर्शन गरेका छन् ।

मौलापुर नगरपालिकाले हरेक वर्ष महाशिवरात्रीको अवसरमा मधानी महोत्सव गर्दै आएको छ । पुरातात्विक महादेव मन्दिरमा हरेक वर्ष आयोजना गर्ने गरेको मधानी महोत्सवलाई विशिष्ट बनाउन तिन दिनसम्म विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

शुक्रवार उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन गरिएको मधानी महोत्सवको दोस्रो दिन शनिवार भारतीय कलाकारहरुको प्रस्तुति थियो भने आइतवार कुस्ती खेल प्रतियोगिताको आयोजना गरिएका थियो ।

मेला भव्य रुपमा सम्पन्न भएको नगर प्रमुख रिनाकुमारी साहले जानकारी गराएकी छन् ।

कुस्ती खेल प्रदर्शनमा देखिएको सर्वसाधारणको उपस्थितिले अझै पनि ग्रामीण क्षेत्रमा कुस्ती प्रतियोगिताप्रति दर्शकको मोह कम नभएको पुष्टि भएको दर्शकहरुले बताएका छन् ।

प्रतिक्रिया