रौतहट
उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वकै मौलिक र पृथक शैलीको पूजा मौलापुरमा हुने गरेको बताउनु भएको छ । महाशिवरात्रीको अवसरमा रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित मधानी महोत्सव २०७९ को शुक्रबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पुरातात्विक महादेव मन्दिरको पूजा मौलिक प्रकृतिको भन्दै प्रशंसा गर्नु भएको छ ।
मौलापुर नगरपालिकाले पुरातात्विक महादेव मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न गरिरहेको पहलका लागि आफ्नो तर्फबाट नेपाल सरकारबाट पहल गर्न लगाउने प्रतिबद्धता व्यक्त गर्दै उपराष्ट्रपति पुनले कूटनीतिक तथा अन्य आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।
प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई अनुपम उपहार भन्दै उपराष्ट्रपति पुनले नेपालमा थुप्रै पुरातात्विक सम्पदाहरु रहेको बताउनु भएको छ ।
उपराष्ट्रपति पुनले शुक्रबार नै पुरातात्विक महादेव मन्दिर परिसरमा निर्मित पुरातात्विक महादेव संग्रहालयको पनि उद्घाटन गर्नु भएको छ । यसै गरी उपराष्ट्रपति पुनले विवाह भवनको पनि उद्घाटन गर्नु भएको छ । यसै गरी उपराष्ट्रपति पुनले विजय यादव निर्बिजद्वारा बज्जिका भाषामा रचित प्रतिमा नामक उपन्यासको पनि लोकार्पण गर्नु भएको छ । उपराष्ट्रपति पुनले विभिन्न साहित्यकार, कलाकार, भाषासेवी, समाजसेवी तथा कर्मचारीलाई सम्मानपत्रले सम्मानित पनि गर्नु भएको छ ।
उपराष्ट्रपति पुनले महाशिवरात्री पर्व मनाउँदा हुने नकारात्मक कार्यलाई पनि रोक्न सक्नु पर्ने बताउनु भएको छ ।
मौलापुर नगरपालिकाले २०७६ देखि हरेक वर्ष मधानी महोत्सवको आयोजन गर्दै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा मधानी महोत्सवका परिकल्पनाकार प्रभु साहले इतिहासका भन्डार तराई मधेशको रुपमा रहेको तथा धरतीभित्रको इतिहासलाई खोज्नुपर्ने बताउनु भएको छ । मौलापुर नगरपालिकाले मधानी महोत्सवको आयोजन गरेर विलुप्त हुन लागेको संस्कृतिलाई बचाउन ठूलो भूमिका खेलेकोमा प्रशंसा गर्दै पूर्व मन्त्री साहले हाम्रो संस्कृतिलाई दुनियालाई बुझाउनु पर्ने आवश्यकता पनि औल्याउनु भएको छ । मौलापुर पुरातात्विक महादेव मन्दिर, जनकपुरको जानकी मीन्दर, सिमरौन गढ लगायतलाई विश्व सम्पदा सूचीमा राख्नको लागि सरकारसित पहल गर्न आग्रह पनि गर्नु भएको छ ।
कार्यक्रममा सञ्जय साह मित्रले मौलापुरको पुरातात्विक महादेव मन्दिर निकै पुरानो रहेको र बारा, रौतहट तथा सर्लाही जिल्लामा मात्र मनाइने शिवको विशिष्ट अनुष्ठान मधानी वैदिक कालभन्दा पुरानो लोक अनुष्ठान रहेको बताएका छन् ।
मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साहको सभापतित्वमा भएको मधानी महोत्सव २०७९ मा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेश प्रदेशको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, मधेश प्रदेश सरकारका पर्यटन, उद्योग तथा वन मन्त्री सुनिता यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया