रौतहट
रौतहट सदरमुकाम गौरमा विष्णु महायज्ञको कलशयात्रा विहीवार सम्पन्न भएको छ । फागुन ५ गतेदेखि सुरु हुने विश्व शान्ति महाविष्णु महायज्ञको अघिल्लो दिन गरिएको कलशयात्रामा सदरमुकाम गौर र आसपासका गाउँका हजारौँ नरनारी सहभागी भएका हुन् । बागमती नदीमा जल लिएर हजारौँ नरनारी कलश लिएर महायज्ञस्थल गौर राइस मिल फिल्डसम्म पैदल यात्रा गरेका थिए । कलशयात्रामा हाती, घोडा तथा रथसहित विभिन्न बाजागाजा र झाँकी पनि प्रदर्शन गरिएको थियो ।
कलशयात्रामा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानुसहित विभिन्न लब्धप्रतिष्ठित मानिसहरुले पनि सहभागिता जनाएका छन् । कलशयात्रालाई सहजताको लागि सदरमुकाम गौरमा सुरक्षा व्यवस्था पनि कडा मिलाइएको थियो । भारतको अयोध्याबाट विभिन्न साधु तथा मठाधीशहरुको अगुवाईमा गौरमा अहिलेसम्मको ठूलो महायज्ञको आयोजना गरिएको हो । महायज्ञको औपचारिक उदघाटन शुक्रवार हुने बताइएको छ ।
प्रतिक्रिया