गुरु,
मलाई रीस उठ्छ
साँच्चैको रीस उठ्छ।
आँखै अगाडि
कुनै एउटा विचारको मृगलाई
अपराधका तीखा दार्हा तिखारेर
रक्तपिपासुका झुण्डले
लखेटी लखेटी
घेरी घेरी
कोपरी कोपरी
हत्या गर्दा
आँखा चिम्म गरेर
म मुस्काँउन सक्दिन गुरु
मलाई रीस उठ्छ।
भोको भुँडिलाई भजनको उर्दी लगाउँदा
नाङ्गो आङलाई उपदेशको चाङ लगाउँदा
भिखारीको कचौरालाई फरारीको जाप लगाउँदा
बलत्कृतलाई रामराज्यको गफ सुनाउँदा
गुरु
मेरा रगत त्यसै आफै उम्लन्छन्
मेरा नशा त्यसै आफै तरङित हुन्छन्
मेरा निधार त्यसै आफै खुम्चन्छन्
म हाँस्न सक्दिन गुरु
मलाई रीस उठ्छ।
मलाई झन रिस उठ्छ
मुस्काइमुस्काइ पाठो रेटेको देख्दा
आफू तरीसके पछि पुल काटेको देख्दा
दाना फाली फाली परेवा छोप्ने सङ्ग
अङालो हाली हाली छुरा रोप्ने सङ्ग
गुरु,
मलाई यस्तो देख्दा
साँच्चैको रीस उठ्छ।
गुरु,
मान्छे हुनु मानविय स्वभाव हुनु होइन र?
यदि हो भने,
रिस उठ्ने बेलामा रीस उठोस्
हाँस उठ्ने बेलामा हाँस उठोस्
रुनु पर्ने बेलामा आँसु झरोस्
खेल्नु पर्ने बेलामा खेलोस्
नाँच्नु पर्ने बेलामा नाँचोस्
रम्नु पर्ने बेलामा रमोस्
रीस उठ्दा पनि
ङिच्च दाँत देखाई देखाई
अपराध गर्नु नपरोस्
निस्कपट रीस नै उठिरहोस्।
रविन थपलिया
प्रतिक्रिया