रावललाई धमलाको प्रश्न– ‘राष्ट्रपतिको उम्मेदवारमा नेम्वाङ कि पोखरेल ?(भिडियोसहित)

इनेप्लिज २०७९ माघ २९ गते १३:२४ मा प्रकाशित

काठमाडौं, २७ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले राष्ट्रिय हितलाई सर्वोपरी राख्ने व्यक्ति राष्ट्रपति बन्नुपर्ने बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय हितलाई सर्वोपरी राखेर आदर्शमा हिड्ने व्यक्ति राष्ट्रपति बनेमा देश संविधानले परिकल्पना गरेको बाटोमा जाने बताएका हुन् । ‘राष्ट्रपति कुनै पार्टीको बन्ने कुरा भएन । नेपालको संविधानको मर्म र भावनालाई आत्मसाथ गरेर, साच्चिकै राष्ट्रिय हितलाई सर्वोपरी राखेर आफ्नो आदर्शमा हिड्ने व्यक्ति राष्ट्रपति भयो भने त्यसले देशको गरिमा पनि बढ्छ । हामीले संविधानमा जुन समाजवाद उन्मुख राज्यको परिकल्पना गरेका छौं, त्यो बाटोतर्फ जानपनि मद्धत हुन्छ,’ उनले भने ।

नेपालको संविधानले राष्ट्रपतिलाई आलङ्कारिक र संवैधानिक रुपमा परिकल्पना गरेको भएपनि विगतका राष्ट्रपतिले कार्यकारीको भूमिकामा अगाडि बढ्न खोज्दा अहिले दलहरु आवश्यकता पर्दा आफ्नो स्वार्थ पुरा गर्न राष्ट्रपतिको लागि हानाथाप गरेको उनको आरोप छ । ‘विगतमा राष्ट्रपतिहरुको गतिविधिबाट एकदमै संवेदनशील क्षणहरुमा निर्णायक किसिमले पाइला चाल्ने काम भयो । संविधान निर्माणको बेलामा हामीले राष्ट्रपति भनेको आलङ्कारिक, संवैधानिक र कुनै कार्यकारी अधिकार नभएको र नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीले दिने सुझाव, सल्लाह मबोजिम काम गर्ने भनेर परिकल्पना गरेका हौं । तर, घटनाक्रमले के देखायो भने अत्यन्त संवेदनशील क्षणहरुमा राष्ट्रपतिले पनि निर्णायक भूमिका खेलेको वा राजनीतिक उत्तारचढावलाई प्रभावित गरेको देखिएको हुनाले भोलि आफ्ना मनोकांक्षा पुरा गर्न सकिने सम्भावना देखेर हानाथाप गरेको हो कि जस्तो लाग्छ,’ उनले भने ।

नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक र संविधानको रक्षक रुपमा परिकल्पना गरेकाले तदनुरुपको आचरणमा रहन सक्ने व्यक्ति राष्ट्रपति बन्नुपर्ने रावलको धारणा छ । एमालेले राष्ट्रको गरिमा र सर्वोपरी हितको पक्षमा रहने व्यक्ति राष्ट्रपतिको रुपमा अगाडि सार्नुपर्ने उनले बताए । ‘जसले नेपालको संविधानमा राष्ट्रपतिको बारेमा जे कुराको परिकल्पना गर्‍यौं । नेपालको राष्ट्रपति भन्नेवित्तिकै त्यस्तो व्यक्तिको छवि अन्तराष्ट्रिय जगतमा पनि नेपालको ओज बढाउने खाल्को होल भन्ने चाहन्छु,’ उनले भने ।

तपाईले भनेजस्तो राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ कि ईश्वर पोखरेल भन्ने धमलाको प्रश्नमा उनले अहिले आफू नीति निर्माण र निर्णय लिने ठाउँमा नभएको भन्दै कसैको पनि नाम लिन चाहेनन् । राष्ट्रपति गैरदलीय हुनुपर्ने उनको धारणा छ । ‘राष्ट्रपतिले दलीय भावना अनुरुप आफ्नो पदमा बस्ने हो भने त हामीले संविधानमा परिकल्पना गरेको व्यक्ति पाउन सकिँदैन । त्यो दलीय हुँदैहोइन । यद्यपि हामी कहाँ कस्तो छ भने कुनै व्यक्ति कहिलै राजनीतिमा संवद्ध नहुनसक्छ भन्ने नहुन सक्छ । तर, पदमा पुगेपछि त व्यक्तिले त्यसलाई उच्च स्थान दिएर संविधान र कानुनी सशासन अनुरुप हिड्न तयार हुनुपर्यो,’ उनले भने ।

प्रतिक्रिया