गरुडा नपाको कार्यालय प्रमुखमा भूदेव झा हाजिर

इनेप्लिज २०७९ माघ २६ गते २३:२५ मा प्रकाशित

रौतहट

रौतहटको गरुडा नगरपालिकामा नयाा कार्यालय प्रमुखको रुपमा विहीवार भूदेव झा हाजिर भएका छन् । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गरुडा नगरपालिकाको कार्यालय प्रमुखको लागि नगर प्रमुख कन्थमनि प्रसाद कलवारको प्रयासमा उपसचिव झा विहीवार दिउँसो हाजिर भएका हुन् ।

रौतहटकै ईशनाथ नगरपालिकाको कार्यालय प्रमुखको रुपमा कार्यरत झालाई सामान्य प्रशासन मन्त्रालयले गरुडा नगरपालिकाको पनि कार्यालय प्रमुखको थप जिम्मेवारी दिएपछि विहीवारदेखि उपसचिव झाले कार्यभार सम्हालेका छन् ।

झालाई कार्यालय प्रमुखको रुपमा हाजिर गराउन नगर प्रमुख कन्थमनि प्रसाद कलवार तथा उपप्रमुख पुनमकुमारी चौधरीसहित वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यालय प्रमुखको रुपमा नगर प्रमुख कलवारका साथै उपप्रमुख चौधरी, वडाध्यक्षहरुसमेतले झालाई स्वागत पनि गरेका छन् ।

कार्यालयमा हाजिर भएपछि झाले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन् । नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख झाले कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् ।

कार्यालयको काममा कुनै ढिलासुस्ती नहुने तथा सेवाग्राहीलाई कुनै किसिमको मर्का पर्न नदिने गरुडा नगरपालिकाका कार्यालय प्रमुख झाको भनाइ छ ।

प्रतिक्रिया