त्यसैले धेरै नबोल्नु होला

सन्जोग आचार्य २०७९ माघ २५ गते १:४४ मा प्रकाशित

सन्जोग आचार्य
बोली नबोल्दा त्यो तपाईको बसमा हुन्छ । बोलिसकेपछि त्यो अरुको बसमा हुन्छ । बोलि फुस्केपछि तपाईको बोलीलाई अरुले नै नियन्त्रणमा लिन थाल्छ । त्यसैले केही बोल्नुभन्दा अगाडि धेरै बिचार गर्नुपर्ने हुन्छ ।

बोलि, बचनकै आधारमा तपाईको योग्यताको पनि सहज अनुमान लगाउन सकिन्छ । समाजमा त्यही अनुसारको तपाईको पहिचान पनि बन्ने गर्दछ । बोलिले सोचलाई बाहिर ल्याइदिने भएकाले तपाई प्रतिको भविष्यको धारणा अर्को पक्षले सहजै लगाउन सक्छ । त्यसैले धेरै नबोल्नु होला ।

बोलीको आधारमा तपाईको इष्टमित्र हुने गर्दछ । तपाईले जस्तो बोल्नुहुन्छ त्यही अनुसारको मित्रता पाउनुहुन्छ । मिठो बोले मिठा मित्रता पाउनुहुनेछ भने अमिठो बोले त्यही अनुसार शत्रुता पनि कमाउनुहुनेछ । त्यसैले बोल्दा निकै बिचार गर्नुपर्ने हुन्छ । विशेषगरी सार्बजनिक पद धारणा गरेको ब्यक्तिले त कुनै पनि कुरा बोल्नुभन्दा अगाडि दश पटक सोचेर बोल्नुपर्ने हुन्छ ।

अहिलेको राजनीतिमा त ‘पिस डिप्लोमेसी’ लाई निकै महत्वका साथ हेरिन्छ । दुश्मनलाई वा विपक्षीलाई पनि कुनै कुरा भन्नु छ भने घुमाउरो पारामा निकै संवेदनशील ढंगले भनिन्छ । त्यो विपक्षी ब्यक्ति भोलि तपाईको पक्षमा ल्याउनका लागि भएपनि तर्कसंगत ढंगले प्रस्तुती राख्नुपर्दछ ।

राजनीति शब्दमा यति धेरै गहिराई छ कि त्यसको एक शब्दमा ब्याख्या गर्न सकिदैन । नीतिको पनि नीति राजनीति हो । राजनीतिले ठूला ठूला नीति ल्याउने हुनाले राजनेता भनेको सबैको मनमा बस्नसक्ने र सबैले रुचाउने हुनुपर्दछ । त्यसको लागि तपाईको भाषण वा बोलीमा तर्किता र बौद्धिकता हुन जरुरी छ ।

प्रसंग रबि लामिछानेको पत्रकार सम्मेलनलाई लिन सकिन्छ । टेलिभिजन प्रस्तोताको रुपमा जनताले रुचाएका संचारकर्मी रबि लामिछानेले छोटो समयमाकै राजनीतिमा ठूलो फड्को मार्न सफल भए । संचारकर्मी को रुपमा लामो अनुभव भएपनि रबि राजनीतिमा भने नयाँ नै हुन् । मलाई ब्यक्तिगत रुपमा भन्नुहुन्छ भने अरुको तुलनामा रबि मनपर्छ । संचारकर्मी भएकोले पनि रविलाई रुचाउनु स्वभाविकै हो । तर, गृहमन्त्री पद गएपछि रविले जुन शैली र भाषामा पत्रकार सम्मेलन गरे त्यो मैले अपेक्षा गरेभन्दा बिलकुल फरक थियो । हो, उनले मनका कुरा निर्धक्क ढंगले जनताले बुझ्ने भाषामा भने । तर, जसरी गोकुल, गगनजस्ता शब्द र सञ्चारमाध्यमलाई दोष थुपारे त्यो भने चित्त बुझेन ।

हिजो चुनावमा सञ्चारमाध्यमहरुले चितवनमा रविले जित्न सक्ने भनेर लेखेकै हो । केही सञ्चारमाध्यम र अरुले उनलाई घेराबन्दीमा पारे होला तर त्यसलाई कुटनीतिक शैली र भाषा प्रयोग गर्नुपर्ने थियो । जसले जे भनेपनि यसमा भने रबि चुके हुन् । नेताले आवेगमा आयो भन्दैमा जे पायो त्यही बोल्नु पनि भएन । किनभने उनको क.धकमा सय युवाको भविष्य अडिएको छ ।

राजनीतिमा सिक्दै अगाडि बढ्ने हो । एउटा शुभचिन्तक र संचारकर्मी को नाताले तपाईको आगामी कदमले भने प्रेस स्वतन्त्रताको प्रत्याभुति दिलाउने छ भन्ने अपेक्षा गर्दछु . एउटा कथन छ, “दुःखमा नआत्तिनु र सुखमा नमात्तिनु” यती भन्दै रबिजीको आगामी उज्वल राजनीतिक भविष्यको कामना पनि गर्दछु ।

धन्यबाद ।

प्रतिक्रिया