अध्यादेश सर्वसम्मतिले पारित

इनेप्लिज २०७९ माघ २३ गते १२:३३ मा प्रकाशित

विराटनगर, २३ माघ(रासस): ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं १ प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ८१(४) बमोजिम आन्तरिक मामिला तथा कानून मन्त्रीको तर्फबाट सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेश गर्नुभएको थियो ।

सङ्घीय निजामती सेवा ऐन आइनसकेको अवस्थामा प्रदेशमा रिक्त्त दरबन्दीमा कर्मचारी व्यवस्थापन गर्न सो अध्यादेश ल्याएको मन्त्री राजभण्डारीले प्रष्ट पार्नुभयो ।

यसैगरी, प्रदेश सभा नियमावली, २०७४( पहिलो संशोधन समेत)को नियम १३ बमोजिमको कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुको विवरण सहित प्रदेश सभा नियमावली मस्यौदाका लागि गठित समितिको विवरण पनि सभामुख बाबुराम गौतमले सार्वजनिक गर्नुभयो ।

आठ मिनट चलेको सदनमा तीन पछि नेपाली कांग्रेसका सांसद केदार कार्कीले नियमापति जनाउनुभएको थियो । उहाँले जनताको समस्या अबगत गराउने यो सभामा शून्य समय हटाएको र सदन मिलोमतोमा चलाएको आरोप लगाउनुभयो ।

प्रदेश सभाको अर्को बैठक भोलि अपरान्ह १ बजे बस्नेछ ।

प्रतिक्रिया