लघुकथा-साइत

अरुणबहादुर खत्री “नदी” २०७९ माघ २३ गते ११:३८ मा प्रकाशित

एकदिन रमेश आफ्नो घरबाट बिहान सबेरै उठेर हातमुख धोइवरी बाहिर निस्क्यो । केही पर पुगेपछि एउटी युवतीले गाग्रीमा पानी बोकेर आएको भेट्यो । गाग्रीमा भरी पानी बोकेको देख्नासाथ उसलाई खुसी लाग्यो । आफ्नो काम बन्ने भयो भनी ढुक्क भयो । त्यसपछि ऊ आफ्नो काम परेको ठाउँमा गयो । काम पनि सोचे अनुसार नै भयो । ऊ घर फर्कदा बिहान घरबाट आउँदा बाटोमा भरी गाग्री देखेको राम्रो नै भयो भनेर त्यो साइत पारिदिने महिलालाई भेटेर धेरै धन्यवाद दिन मन लाग्यो उसलाई । तर फर्किदा भेट भएन ।

त्यसको केही दिनपछि उसलाई बिदेश गएर पैसा कमाउने इच्छा लाग्यो । बिदेश गएर पैसा कमाएर आएकाहरुलाई सम्झ्यो र भिसाका लागि कागजपत्र बोकेर घरबाट निस्क्यो । संयोगवश तिनै अस्तिकी युवतीलाई गाग्रीमा पानी बोकेर आएको भेट्यो । देख्नासाथ उसले “तपाईलाई धेरै धेरै धन्यवाद छ है” भन्यो । “किन मलाई धन्यवाद दिनु भयो” भनेर उनले सोधिन् । “तपाईले अस्ति भरी गाग्री बोकेर आएको भेट्दा साइत परेर मेरो काम बन्यो नि अब आज पनि मेरो काम नबनी छाड्दैन, त्यसैले मैले तपाईलाई धन्यवाद दिएको हुँ”भन्यो । खुसी हुँदै भिसाका लागि राजदुतावासमा गएर निवेदन सहित आफ्ना कागजातहरु पेश ग¥यो । ऊ भिसा पाउनेमा ढुक्क जस्तै थियो । तर दुर्भाग्य राजदुतावासका कर्मचारीले उसको भिसा मागलाई अस्वीकृत गरिदिए । आफ्ना सम्पूर्ण कागजातहरु हातमा बोकेर अघि भेटिएको भरिलो गाग्री र महिलालाई सम्झिदै घर फर्कियो ऊ । उसले भरिलो गाग्रीको रहस्य बुझ्नै सकेन ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

प्रतिक्रिया