छिट्टै प्रदेश सञ्चार ऐन आउने–मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ माघ २२ गते १२:५५ मा प्रकाशित

मोरङ, २२ माघ(रासस): प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आज यहाँ दुई जना पत्रकार पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा रु.११ हजार १००राशिको कृष्णप्रसाद सिग्देल स्मृति पुरस्कारबाट पत्रकार दिनेश सुब्बा र रु.१५ हजार ५०० राशिको जनार्दन मैनाली स्मृति पुरस्कारबाट पत्रका तेजेन्द्र भण्डारी प्राप्त गर्नुभएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमको उद्घाटन तथा पुरस्कार वितरण गर्दै गठबन्धनबाट बनेको यो सरकारले छिट्टै गति लिने बताउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले सञ्चार क्षेत्रको हक, हित र अधिकारका लागि सञ्चार ऐन ड्राफ्ट भइसकेको भन्दै प्रेस र पत्रकारिताको भूमिका व्यवस्थित गर्न ऐन र कानूनबाट सञ्चार प्रतिष्ठान गठन गर्ने जानकारी दिनुभयो ।

उहाँले विगतको सरकारले प्रतिष्ठान खारेज गर्नु तानाशाह हो भन्दै सरकारले ऐन र कानूनको प्रक्रिया सशक्त्त प्रतिष्ठान बनाउने कुरामा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको नाम सकेसम्म सहमतिबाट नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउने भन्दै कामको बोझ नथपिएसम्म प्रदेश सरकारले मन्त्री विस्तार नगर्ने दावी गर्नुभयो ।

उहाँले पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिँदै कुनै समयमा आफू पनि प्रेस चौतारीसँग आवद्ध रहि पत्रकारिता गरेको स्मरण गर्नुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश सरकारका पूर्व मन्त्री जीवन घिमिरेले पत्रकारहरुले व्यवसायिक मर्म र धर्मलाई स्थापित गर्नु पर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले समाजलाई सुसूचित गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र स्वतन्त्र हुनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रेस चौतारी नेपाल मोरङ शाखाका अध्यक्ष सुदीप कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका सभापति लीलाबल्लभ घिमिरे, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर मोरङका अर्जुन आचार्य र पत्रकार कौशल निरौलाले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया