कविता-जलेको प्रेम सुतेको सत्ता

जगन्नाथ पौडेल २०७९ माघ १३ गते २२:५४ मा प्रकाशित

ओ अन्धो सत्ता !

के प्रेमहरूले बाँच्न पाइँदैन अब तिम्रो राज्यमा

के प्रेमहरू भासिइरहनु पर्ने हो सधैं रसातलमा

के देशलाई पुज्नेहरू निशानामा परिरहनु पर्ने हो अब?

रगत पिएर जुनाहरूको

पसिना चुसेर घनेहरूको

पुगेन र लुछ्न थाल्यौ जिउँदो मान्छे

डढाउन थाल्यौ संवेदनाहरू खुलेआम

कत्लेआम गर्दैछौ अब मान्छेको जीवनमाथि

अब भोको काँचो श्वास पनि फेर्न नपाउने भयौं

तिम्रो राज्यका नागरिकहरू

हामी तिम्रो नोकरजति पनि रहेनौं अब

एउटा कसाईले पालेको पाठोजति रहेन हाम्रो तौल ?!

एउटा नागरिक जलिरहेछ खुलेयाम तिम्रोअगाडि

तिम्रो मथिङ्गलमा पलाउन सकेन एक चिम्टी मानवता

तिम्रो बाङ्गो करङभित्र सलबलाएन एक सर्को संवेदना

ओ दानव अवतार !

यो कुनै सर्कस थिएन जोकरले कथेको

यो कुनै लभ स्टोरी फिल्मको दृश्य थिएन

निर्देशकले चुनेको

तिम्रो राज्यको एउटा नागरिक थियो

जो हन्डर र ठक्करबाट गुज्रिंदै

देश र विदेशमा भौंतारिंदै

छिमेकी र आफन्तबाट तिरस्कृत हुँदै

कुरामा छुरा थाप्नेहरूदेखि अत्तालिंदै

कुत्सित मानसिकताको सामाजिकसत्ताबाट तर्सिंदै

गर्नसम्म गरेर कर्महरू

पोख्न मिल्ने पसीनाहरू घोप्ट्याएर

पाखुरीमा भएको बल ओछ्याएर

ठोक्किंदै ढुनमुनिदै

तिम्रो शरणागत भएको थियो

सिंहले लखाटेको मृगजस्तो

बाँच्न पाउने आसमा तिम्रो साथको खोजीमा

आएको थियो

लामो सास तान्दै तिम्रो घरअगाडि

तिम्रो साथ सोचेर

तिम्रो हात खोजेर

तिमीले त सिकार पो गर्यौ उसको हिम्मतको

चोक्टा चोक्टा उतार्यौ

उसको विश्वासको

जलाएर छोड्यौ उसका सपनाहरू

यहाँभन्दा निर्लज्जता

यहाँभन्दा भद्दा दृश्य

दुनियाको कुन फिल्मी इतिहासमा देख्न पाइन्छ होला तिम्रो सिवाय

ओ जिउँदो सपनाका हत्याराहरू

जिउँदो मान्छे लुछ्ने हायनाहरू

जिउँदो मानवता जलाउने हिटलरहरू

अब कसरी फर्किन्छौ मरेको सत्तामा

अब कसरी घिसारिन्छौ डढेको कुर्सीमा

‘लाज’ भन्ने कुनै शब्द पनि छ भाषामा सुनेका छौ

प्रेम प्रेममात्र होइनन्

जुम्लामा भेडा चराउने नन्दलाल पनि हुन्

रोल्पामा बाख्रा चराउने खिमलाल पनि हुन्

दशकअगाडि आत्महत्या गरेका डिकेन्द्र राजवंशीको शृङ्खला पनि हुन्

के अब सकिएको हो नागरिकहरूको जिउने समय

के अब मरिसकेको हो मुलुकको राज्यसत्ता

या

उसका देख्ने आँखाहरू मैमत्त भएका हुन्

उसको टाउको शक्तिउन्मत्त भएको हो

ए बेकामे सत्ता

हर्केले भेडा चराउन नपाउनु अब कुन्साङ भीरमा

मुसहरले गाई चराउन नपाउनु अब कोसी फाँटमा

आलु रोप्न नपाउनु पाङका बिस्नुले अब आफ्नो फोगटीमा

अम्बिकाहरू हिंड्न नपाउनु अब खुलेयाम भएर सडकमा

यस्तो कुहेको समयको अन्धकारमा

बाँच्न पाउने अधिकारको संहार भएको सहरमा

कहिलेसम्म तड्पिनुपर्ने हो ओ गणतन्त्र !?

जवाफ कस्ले दिने हो

न्याय खोज्न कहाँ पुग्ने हो

प्राण बचाउन कहाँ लुक्ने हो

शून्य भयो सत्ता

शून्य भयो न्याय

शून्य भयो आगन

शून्य भयो जीवन

तर भत्काउनु पर्छ अब शून्य

गलाउनु पर्छ दानवहरूलाई

ढलाउनुपर्छ अन्धो कुर्सीको अस्थिपञ्जर

प्रेमले उठाएको चिरागले

प्रेमले उठाएको ज्वालाले

अलबिदा प्रेम !

-जगन्नाथ पौडेल

प्रतिक्रिया