‘अब साना व्यवसायीहरु संगठित बन्ने बेला आएकोछ’

इनेप्लिज २०७९ माघ १२ गते २३:२० मा प्रकाशित

काठमाडौं, १२ माघ । आर्थिक संकटको कारण साना व्यवसायीहरु मारमा परेको भन्दै सरकारले गम्भिर कदम चाल्न आवश्यक रहेको काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् ।

बागमती करीडोर उद्यमी संघले आयोजना गरेको प्रथम भेलाका सहभागीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै बागमती कोरिडोर उद्यमी संघका अध्यक्ष कमल जंग कुँवरले साना व्यवसायीहरुको समस्याहरुलाई स्थानीय सरकारले समेत वेवास्ता गरेको भन्दै व्यवसायीहरु आफै संगठित हुने समय आएको बताए ।

उनले पछिल्लो समय बागमती कोरिडोरको आलोकनगर तथा शंखमुल क्षेत्रमा रेष्टुरेन्ट, होटेल लगायतका व्यवसायहरु एक जुट भएकै कारण पार्किङ व्यवस्थापन, सुरक्षा लगायतका कुराहरुमा प्रहरी प्रशासनसँग समन्वय गर्न सकिएको बताए । उनले, साना व्यवसायीहरु एक जुट हुन सकेमा मात्र देश आर्थिक समृद्धिको बाटोमा जानसक्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै प्रहरी नायब उपरिक्षक निसान्त श्रीवास्तवले व्यवसायहरुको सुरक्षाको निम्ती प्रशासनले हर सम्भव प्रयास गरिरहेको बताए । उनले प्रहरी प्रशासन सामान्यतया व्यवसायीहरुलाई कुनै पनि प्रकारले हस्तक्षेप नगर्ने बताए ।

कार्यक्रममा संघका सचिव तथा रेष्टुरेन्ट व्यवसायी बिनोद तिमल्सिनाले विगतमा गरेका तथा भावी कार्यक्रमहरु बारे प्रष्ट पारेका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष बोरिस गौतमले संघको आर्थिक अवस्थाको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा व्यवसायी आयुष श्रेष्ठ, दिलिप सापकोटा लगायतका वक्ताहरुले साना व्यवसायीहरु संगठित भएमा मात्र व्यवसायीहरुले सम्बन्धित निकायमा आफ्ना कुराहरु राख्न सक्ने बताएका थिए ।

प्रतिक्रिया