विश्वासको मत दिएको विषय अव समाप्त भैसक्यो –नेकां केन्द्रीय सदस्य डा कोइराला

इनेप्लिज २०७९ माघ ११ गते २३:०८ मा प्रकाशित

विराटनगर,११ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अव समाप्त भैसकेको बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकांले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषमा सम्पूर्ण कार्य समाप्त भएकोले यस विषयमा अव पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको स्पष्ट पार्नु भयो ।

नेता डा कोइरालाले हालै काठमाण्डौंको भेलामा अन्य साथीहरुले बोलेको तर आफु र महामन्त्री गगन थापाले नबोलेकामा सञ्चारमाध्यमले ‘मिर्चमसला’ हाली समाचार सम्प्रेषण गर्ने गलत भएको धारणा राख्नु भयो ।

उहाँले राष्ट्रपतिको निर्वाचन सहमतीमा जाने सम्भावना कम रहेको छ भन्दै नेकांले आफ्नो उम्मेदवार दिने र अन्य दलहरुसँग छफलफल भैरहेको जानकारी दिनु भयो ।

एक प्रश्नको जवाफमा नेता डा कोइरालाले नेकां प्रतिपक्षमा भएकाले कुनैबेला पनि सरकार गिराउन र नयाँ सरकार निर्माण गर्न समक्ष रहेको धारणा राख्नु भयो ।

उहाँले हिजो नयाँ बानेश्वरको आत्मदाहाको घटना अन्त्यन्त दुःखदायी भएको हो भन्दै उक्त्त घटनाले मुलुक कतातर्फ जाँदै छ भन्ने देखाउँछ भन्नु भयो ।

नेता डा कोइरालाले राष्ट्रपतिको निर्वाचन मुखमा भएकाले नेकां केन्द्रीय समितिको बैठक दुई पटक सारेको स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया