अठोट:

कमला प्रसाईं हाल अमेरिका २०७९ माघ १० गते २३:१३ मा प्रकाशित

अब दिनहरुले उज्याला किरणहरु छर्न थालेपछि
कलेटी परेका ओठहरुले मुस्कुराहट ल्याउन थालेपछि!
सधै धमिलो देखिने पानी पनि संग्लो देखिन थालेको छ
क्षितिज पारीको सपना पनि बिपनामा परिणत हुन थालेको छ
अनि संसारको आवरण नै बिचित्रले परिवर्तन हुन लागेको छ।

अब त जुन सङ्ग पनि हाँस्न मन लाग्न थालेको छ।
हिजो संसारसङ्ग युद्ध गरेका यी पाईलाहरु
खुसी सङ्ग अब अगाडि बढाउन मन लागेको छ।
कुनै दिन यी आँखाले देखेका सपनाहरु
गन्तव्यमा पुग्न लागेका छन अब बिपनाहरु
हिजोका ती गोरेटाहरुमा स्वार्थी देखिने मान्छेहरु
आज सहारा बन्दै हात फैलाउन थालेका छन् ।

हिजो तातो बताससङ्गै देखिने
तेजिलो सुर्यको प्रकाशसङ्ग पनि डर लाग्ने गर्दथियो।
आज त्यहीँ तातो बतास र तेजिलो सुर्यको प्रकाश पनि
किन किन न्यानो पो लाग्न थालेको छ।
अनि धेरै पछि जीवन धन्य बन्न थालेको छ।।।

कमला प्रसाईं
हाल अमेरिका

प्रतिक्रिया