लघुकथा-नेपाल बन्द

अरुणबहादुर खत्री “नदी” २०७९ माघ ३ गते २:४६ मा प्रकाशित

माइक्रोबस चलाउने ड्राइभरले आफ्नो घरको टेलिभिजनको कुनै च्यानलबाट भोलिदेखि नेपाल तीन दिन बन्द हुने घोषणा भएको समाचार सुनेपछि दिक्क मान्दै आफ्नी श्रीमतीसँग भन्यो “ भोलिदेखि हाम्रो देश तीन दिन बन्द हुने भयो नि राजुकी आमा” । “तीनदिन सम्म हजुरले बस चलाउन पाउने हुनु भएन नि त अब तीन दिन हजुरले के गरेर बिताउनुहुन्छ त ?” श्रीमतीले भनिन् । “तीनदिन सम्म थकाइ मारेर सुतेर बस्नुपर्ला नि त” ड्राइभरले भने । “हजुरले तीनदिन सम्म बस चलाउन नपाएपछि हजुरको आम्दानी नै घट्ने भयो नि घर खर्च अब मैले कसरी चलाउने त यसरी बेला बेलामा कहिले उपत्यका र कहिले नेपाल नै बन्द भएपछि” श्रीमतीले दिक्क मान्दै भनिन् ।

“देश बन्द गर्ने पार्टीका कार्यकर्ताहरुसंग हामी गाडी, उद्योग, कलकारखाना चलाउनेहरु गएर धर्ना बस्नु ठीक होला” ड्राइभरले भने । त्यसपछि राजुकी आमाले “बन्द हुने दिनको गणना गरेर काम गरेर दिनमा आउने आम्दानी अनुसार बन्द गर्ने पार्टीले दियो भने मात्र कहिले नेपाल बन्द र कहिले उपत्यका बन्द गर्न दिनु ठीक होला नत्र बन्दको विरुद्धमा आन्दोलन गर्नु पर्ला” भनिन् ।

प्रतिक्रिया