कबिता : सुपर हिट फिल्म

रामप्रसाद खनाल २०७९ पुष १५ गते २३:०२ मा प्रकाशित

एउटा टाउको कटुवाले 

अर्को टाउको कटुवालाई भन्यो 

तँ हत्यारा होस 

अपराधी होस 

बेइमान होस 

फलानाको दलाल होस 

धोकेबाज होस

फटाहा होस 

भ्रष्ट होस  

अर्काले पनि कुम हल्लाउँदै भन्यो 

म होइन तँ हत्यारा होस 

अपराधी होस 

बेइमान होस 

फलानाको दलाल होस 

धोकेबाज होस

फटाहा होस 

भ्रष्ट होस  

दोहोरी चलिरहेकै थियो

यत्तिकैमा अचानक के भयो भयो 

एउटा टाउको कटुवाको      

फोन आयो बालुवाटार बाट 

म बालकोट हिँडे है 

अर्काले जबाफ फर्काए 

म स्वागत गर्न तल झरी सकेँ है 

एक छिनमा दुवैको भेट भयो 

दुवै किचिक्क हाँसे 

हात मिलाए, गला मिलाए र बासे,

भने दुवैले – हामी मिल्यौँ

अर्को टाउकाको मूल्य तोक्नेलाई मासे 

पररर ताली बजाए भक्तहरूले 

फिल्म रिलिज भयो !

दर्शक खचाखच छन् हेर्न 

सुपर हिट फिल्म कसले सक्छ फेर्न ? 

दुबै अहिले मस्त मस्त छन 

छतमा बसेर सुन्तला खान ब्यस्त छन  !!

– रामप्रसाद खनाल, डिसेम्बर ३०, २०२२

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया