धर्मसङ्कट

अरुणबहादुर खत्री “नदी” २०७९ कार्तिक २९ गते ११:१२ मा प्रकाशित

कवि जयराम सम्मानपत्र ग्रहण गर्न नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीसम्म जानुपर्ने भयो । उसले आफ्नो श्रीमतीलाई लिएर कमलादी जान यात्रुको खोजीमा रोकेर राखेको ट्याक्सीलाई हात देखाएर ट्याक्सीभित्र बस्यो ।

ट्याक्सीभित्र बसेपछि “हामीलाई कमलादीसम्म लगिदिनु होला नि” ट्याक्सी ड्राइभरसँग भन्यो । ट्याक्सी ड्राइभर उसँगै स्कुलमा पढेको साथी देवनारायण रहेछ । ट्याक्सी ड्राइभरले उसलाई चिन्यो र आफूसँगै स्कुलमा पढेको साथीसँग ट्याक्सीको भाँडा लिउ कि नलिउ होला भनेर सोच्यो ।

उसले मलाई चिन्यो भने आज एकपटकलाई साथीसँग पैसा लिन्न भन्नुपर्ला । नचिनेमा ट्याक्सीको मिटरमा उठेको भाँडा लिनुपर्ला भन्यो र कमलादीमा पुगेपछि जयराम र उसको श्रीमती दुबैजना ट्याक्सीबाट झरे । “कति भयो ?” भनेर जयरामले सोध्यो । ट्याक्सी ड्राइभर देवनारायणले “मिटरमा हेरेर पाँचसय पचास रुपैँया भयो” भन्यो । जयरामले पर्सबाट निकालेर ट्याक्सी भाँडा दियो र “ल हामी लाग्छौ है देवनारायण” भन्यो । मलाई चिन्यो नि उसले भनेर देवनारायणको अनुहार नै रातो भयो ।

-अरुणबहादुर खत्री “नदी”

सामाखुशी मार्ग, सरकारी धारा,
काठमाडौं
फोन नं. ४३५३५९४

प्रतिक्रिया