अमेरिकामा आइतबार ‘हिजो आजका कुरा’

इनेप्लिज २०७९ कार्तिक २६ गते ११:२० मा प्रकाशित

काठमाडौं,२६ कार्तिक ।

बरिष्ट अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट बिदेश प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुदैछ । निर्देशक साकार पन्तका अनुसार १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा फिल्म प्रदर्शन हुनेछ भने २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुने तय भइसकेको छ ।


गत असोज २८ मा देशभरका हलमा प्रदर्शन भएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । अमेरिकाका अन्य शहरहरुमा पनि फिल्म क्रमशः प्रदर्शन हुने तयारीमा रहेको निर्देशक साकारले जानकारी दिएका छन् । उनका अनुसार अमेरिकासँगै फिल्म २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुअरिनामा प्रिमीयर हुदैछ । त्यसपछि फ्युजन मिडिया प्रोडक्शनले अन्य शहरहरुमा ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नेछ ।

‘बिदेशमा ‘हिजो आजका कुरा’ प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकार भन्छन्,‘अमेरिका,अष्ट्रेलिया झै क्यानडा,युरोप,जापानलगायत बिश्वका थुप्रै देशबाट फिल्मको डिमाण्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौ ।’

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन ।

प्रतिक्रिया