तिहार को केही सम्झना 

नवीन रायमाझी २०७९ कार्तिक ६ गते ११:१७ मा प्रकाशित

यम पञ्चककाे सुरुवातसँगै अनेक किसिमका शुभकामना सन्देशका साथै नेपालीहरूकाे दोश्रो ठूलो चाड तिहार सुरू भएकाे थाहा हुन्छ। मलाई यो चाड निकै मनपर्छ। खानामा मासुजन्य पदार्थ नहुने, चारैतिर झिलिमिली बत्ती बलेको र आफ्नो प्रियजनसँग मात्र भेट गरे हुने साथै छोटो अवधिको हुने भएकोले पनि मलाई यो पर्व प्रिय लाग्छ।

दीप प्रज्वलित गर्ने कारणले दीपावली भनेको हुनुपर्नेमा आजभोली तिहारलाई दीपावली भनेर भारतीय करण भयो भन्ने जस्ता निरर्थक तर्क दिने महाबज्रुकहरुको मानसिक अवस्थादेखि दया पनि लाग्छ। निसन्देह नेपालमाभन्दा भारतमा तिहार बडाे धुमधामले मनाउने गरिन्छ। अब यसलाई स्वीकार गर्ने वा नगर्ने उसको विचार हो। तिहार लागेपछि म मेरो जीवनमा घटेका तीन वटा घटना जहिले पनि सम्झिन्छु र ती घटनाहरु सम्झिँदा अलिअलि रमाइलो र धेरै खेद लाग्छ।

पहिलो घटना देउसी खेल्न जाने सम्बन्धी हो। जीवनमा प्रथम र अन्तिम पटक खेल्न गएको देउसी एक मानेमा मेरो लागि बिर्सिनसक्नु छ। नाच्न पर्दा आँगन टेडाे देख्ने, बजाउनमा बिहान बेलुकीको भात मात्र बजाउन सक्ने र गीत गाउँदा रोएको जस्तो सुनिने म लगायतको समूह गोबर्धन पूजाको रात देउसी खेल्न भनेर निस्केकोमा सबै रक्सीले टिल्ल थिए। जसमा केवल म मात्र होसमा थिएँ। देउसी खेल्ने नाममा जसको पायो त्यसको घरमा पस्ने र भनेको जति पैसा पाएन भने घर धनीलाई अश्लिल गाली गर्दै हाम्रो समूह अगाडि बढ्दै थियो।

रातको करिब एक बजे ललितपुरको मान भवन क्षेत्रको एउटा घरमा जवर्जस्ती पसियो। मध्यरातमा सबै सुतिसकेको घरमा देउसी रे ! भन्दा कसैले सुनेन् वा एकछिन् कराएर आफै जान्छन भनेर त्यो घरका मान्छेहरुले नसुनेको जस्तो गरे त्यो थाहा भएन। अब हामी पनि पैसा नलिई फर्किने मुडमा थिएनौँ। देउसी रे! भन्दै बाहिरी भर्याङ्ग चढेर माथि कौसीमा पुगियो। धेरै बेर कराएपछि सिनेमाको नायिका जस्ता दुई युवतीले ढोका खोलेर के हेरेका थिए सायद ती सुन्दर युवतीहरुलाई प्रभावित पार्न अचानक सबै कौसीको बार समातेर जोड–जोडले नाच्दै कराउँदा एक इँट्टाको त्यो कौसीको बार भत्केर हामी लगभग सबै तल जमिनमा खस्न पुगियो।

गर्ल्याम्म कौसीको बार भत्केको आवज के आएको थियो घरबाट अचानक तीन/चार जना युवक लट्ठी लिएर हामीलाई कुट्न आए। त्यो घर नेपाली सेनाको कुनै अधिकृतको घर रहेछ र त्यहाँ हामीलाई कुट्न आउने उनका सहयोगीहरु रहेछन। सबैले नराम्रो सँग कुटाई खाए। म भने होस्मा भएको कारणले भाग्न त् सफल भए तर पनि पिँडौलामा दुई लट्ठी खाइयो। निकै पछिसम्म पनि त्यो दुखाइले छाडेन। धन्न ती मान्छे भलादमी रहेछन र प्रहरीलाई खबर गरेनछन्, होइन भने हामी देउसी खेल्ने समूहको के दुर्गति हुन्थ्यो त्यो अहिले सम्झिँदा पनि ज्यान सिरिङ्ग हुन्छ।

दोस्रो। केटाकेटी हुँदा पटका पड्काउन खुब रमाइलो लाग्थ्यो। अहिले भने मलाई यस्तो क्रियाकलाप मन पर्दैन। आफूसँग पैसा नहुने र घरबाट पनि पटका किन्न जस्तो निरर्थक काममा पैसा नदिने कारणले सबैभन्दा सस्तो रातो रङ्गको मलटा बारा भन्ने खुर्सानी जस्तो एक छेउमा आगो लगाउने बितिकै ढ्याङ्ग पड्किने पटका हुन्थ्यो। पाकेटमा आउने र माला जस्तो हुने त्यो पटका एक ठाउँमा आगो लगाएपछि एकपछि अर्को पड्किँदै जान्छ।

एक पटककाे तिहारमा भारतबाट एक नातेदारले मलाई त्यस्तो थुप्रै पटका ल्याइदिएका थिए। बडाे मुश्किलले एक दुईवटा त्यस्तो पटका पाउने म पाँच सात पकेट पटका पाएपछि खुशीले रातभरि निन्द्रा नै लागेन। सोचेको भन्दा धेरै एकै पटक पाउँदा मान्छेलाई मात लाग्छ भनेको जस्तै मलाई पनि त्यति धेरै पटका पाउँदा के गरूँ–गरूँ हुनु स्वभाविकै हो। पटका पड्काउने बारेमा एउटा भुस्याहा कुकुरको पुच्छरमा त्यो पटका बाध्ने र आगो लगाउने हामी साथीहरुबीच सल्लाह भयो। पटकाको माला कुकुरको पुच्छरमा बाँधेर आगो लगाउना साथ् पटकाको आवाज सहन नसकेर त्यो कुकुर यसरी तर्सियो कि ठाउँको ठाउँ बेहोस भएर मर्यो।

त्यो बेलामा मलाई खुबै रमाइलो लागेको थियो तर सम्झिँदा लाग्छ त्यो बोल्न नसक्ने निर्दोष जनावरप्रति हामीले कति ठूलो अपराध गरेका रहेछौ। अहिले पनि कुनै कुरामा असफल भए भने त्यही पापले गर्दा हो कि जस्तो लाग्छ र त्यो कुकुरलाई मैले अहिलेसम्म बिर्सिन सकेको छैन।

तेस्राे। लङ्गुरबुर्जा भन्ने जुवामा सबै पैसा हारेर टाट पल्टिँदाको हो। बीस पैसाको एक माना ढिक्के नुन पाइने जमानामा घरबाट एक रुपैयाँ लिएर पाँच माना नून किन्न पसल गएको म बाटोमा लङ्गुरबुर्जा खेलिरहेको ठाउँमा पुगियो। लौ, एकपटक भाग्य चम्काउ भनेर पच्चिस पैसा राखेको जितेर पचास पैसा भयो। एवम् प्रकारले जित्दै जाँदा म सँग पाँच रुपैयाँ भयो।

केही समयपछि त्यही ठाउँमा हाम्रो घर नजिकको एउटा मान्छे आएर अलि अगाडि ठूलो खाल छ त्यहाँ खेल्न जाने लोभ देखायो। मलाई पनि एकछिन खेलेर एक रुपैयाँको पाँच रुपैयाँ भएकोमा अर्को केही समय दिएर पाँचबाट दश रुपैयाँ भए झन् रमाइलो हुन्छ भन्ने लोभले तान्यो। त्यसपछि खेल्न गइयो त्यो ठूलो खालमा। खेल्दै जाँदा जित्ने त् के घरबाट नून किन्न दिएको पैसा समेत नरहने गरेर हारियो।

अब नून कहाँबाट किन्ने ? त्यो पैसा कता गयो भनेर सोध्यो भने के भन्ने ? यस्तै डरले सताएर के गरुँ जस्तो भएकोमा एउटा अचानक एउटा उपाय आयाे। र, म बाटोमै बसेर रुन थालेँ। सबै यसो हेर्छन र आफ्नो बाटो लाग्छन् के भयो भनेर कसैले एक वचन पनि साेध्दैनन्। करिब दश मिनेटसम्म रोएपछि एक दयालु व्यक्तिले के भयो बाबु भनेर सोध्यो। मैले घरबाट नून किन्न आएको र बाटोमा त्यो पैसा हराएको कुरा बताएँ। उसले मलाई नून किन्दियो र म नून लिएर घर त गए तर घरमा किन यति ढिलो आएको भनेर आमाको हातबाट चड्कन भने खाइयो। धन्न लङ्गुबुर्जा खेलेर पैसा हारेको थाहा पाएनन्।

हामी सबैले यो रमाइलो चाडलाई आ– आफ्नो गच्छे अनुसार रमाइलोसँग मनाउने काम गरौँ। हैसियतभन्दा ठूलो कुरा गर्दा सधै बेफाइदा नै हुन्छ। सम्पूर्ण पाठकहरुलाई तिहारको हार्दिक तथा मङ्गलमय शुभकामना।

–नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया