मृत्युशैयामा जीवनको अन्तिम घडीमा पुगेकी बुढी आफ्नो एक्लो छोरोलाई भेट्ने ठूलो अभिलाषा राख्छिन् । उनको मुखबाट छोरा–छोरा बाहेक अर्को शब्द निस्किन्थेन ।
बुढीको यो संसारमा छोरो बाहेक आफ्नो कोही नभएको हुदाँ ती दुई आमा छोरा बीच अति नै माया थियो । तिनीहरुको प्रेमलाई देखेर गाउँलेहरु आमा छोरा बीच यस्तो माया हुनुपर्दछ भन्दथे ।
दुर्भाग्य, गाउँका केहीको संगतमा परेर छोरो कुबाटोतर्फ लम्क्यो । ऊ भने तास, जुवा, रक्सीको कुलतमा ब्यस्त हुनपुग्यो । आफ्नो बढी समय यस्तै साथीसँग बिताउन थाल्यो ।
आमासँगको माया भने बिस्तारै कम हुँदैं गयो । बुढीले छोराको अनुहार झल्को अनुहार हेर्न पाए ढुक्कले मर्न पाइन्थ्यो भनेको सुन्दा एउटा छिमेकीले गाउँको टोल–टोलमा खोज्न निस्किइन् । उसलाई तासको जुवामै रमाएको पाइन् । हजार बिन्ति गर्दा पनि ऊ त्यहाँबाट आउन मानेन ।
यता छोरोको अनुहार हेर्न नपाइकनै आँखा चिम्लिइन् आमा ।
जब ऊ आफ्नो घर फर्कियो त भीड देख्यो । भीडको वातावरणमा एक किसिमको मौनता व्याप्त थियो । चारैतिर शून्यता नै शून्यता । जब उसको दृष्टि आमाको लाशमाथि पर्यो तब बेसरी जोरले चिच्यायो – “आमाऽऽऽऽ …… ।
खल्बलियो शून्यता ।
प्रतिक्रिया