नानीसँग ज्ञानीःलघुकथा

इनेप्लिज २०७९ असोज १२ गते २:३४ मा प्रकाशित

विद्यालयमा वर्ष भरी गरिने कार्यक्रमहरु वार्षिक कार्ययोजनामा राखिएको थियो।त्यस मध्येकै एउटा कार्यक्रम थियो ‘नानीसँग ज्ञानी’।यस कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई आमन्त्रण गरिन्थ्यो।उनीहरुले विद्यार्थीहरुलाई आफ्ना संघर्षका कथा सुनाउँथे।ज्ञानगुनका कुरा बाँड्थे। बालबालिकामा सकारात्मक सोँचको विकास गराउनु र उत्प्रेरणा जगाउनु नै यस कार्यक्रमको मुख्य उद्धेश्य थियो।

देशमा चुनावको घोषणा भै सकेको थियो।नेताहरु देश दौडाहामा लागि सकेका थिए।यसै क्रममा पटक पटक मन्त्री भै सकेका यस क्षेत्रका सांसद पनि जिल्लामा आइपुगेका थिए।


‘नानीसँग ज्ञानी’कार्यक्रमको सातौँ श्रृङ्खलामा प्रधानाध्यापकले उनैलाई अतिथिको रुपमा आमन्त्रण गरे।विद्यालयमा भव्य स्वागत गरियो।माला र खादाले उनका गला भरिए।ठूलो हलको मञ्चमा उनी विराजमान भए।


प्रधानाध्यापकको संक्षिप्त स्वागत मन्तव्य पछि संचालकले अतिथिलाई आफ्ना विचार राखिदिन अनुरोध गरे।
अतिथिले आफ्ना संघर्षका कथा सुनाए।जेल,नेल भोगेका कुराहरु बडो गर्वका साथ व्यक्त गरे।

उनले भन्दै गए -“नानीबाबु हो ! तपाईँहरु यो देशको भविष्यको कर्णधार हो।तपाईँहरु कर्तव्य परायण बन्नु पर्छ।इमान्दार र नैतिकवान बन्नु पर्छ।अनुशासन विद्यार्थीको सबै भन्दा ठूलो गहना हो।तपाईँहरु कक्षामा नियमित उपस्थित भएर लगनशील भै पढ्नु पर्छ।कहिले पनि कक्षा छोडेर भाग्नु हुँदैन।तपाईँहरु माथि परिवारको,राज्यको ठूलो लगानी छ।”

अतिथि बोलिरहेका थिए।विद्यार्थीहरु भने कोही झूलिरहेका थिए त कोही हाइ काढ्दै थिए।


“मूला !जो भत्ताको लागि हाजीर लगाएर भाग्छ।जो संसद भवनमा ताण्डव मच्चाउँछ।जो मन्त्री हुँदा भ्रष्टाचार र अनियमितताको कारण हरेक दिन जसो सामाजिक सञ्जालमा भाइरल बन्थ्यो उसैले नैतिकता र इमान्दारीताका कुरा भट्याउँछ।अलिकति त लाज मान्नु पर्ने।कस्तो निर्लज्ज भै बोल्न सकेको ?”-अगाडि लाइनको बायाँ कुनोमा बसेको सञ्जयले विमलको कानमा फुसफुसायो।

अतिथिको भाषण बाहेक हल पूर्ण शान्त थियो।सायद सञ्जयको आवाजको तिव्रता सम्मुख बसेको प्रधानाध्यापकको कानमा पनि पुगेछ कि? उनको दृष्टि सञ्जयमा केन्द्रित भयो।सञ्जयले आँखा झुकायो तर प्रधानाध्यापकको अनुहारको रङ भने हेर्न लायकको थियो।

—मित्र ‘उराठी’ गौतम

अमरपुर- गुल्मी हालःतिलोत्तमा न पा -२, रुपन्देही

प्रतिक्रिया