कर्णको भूलको कारण सोह्र श्राद्द

बाबा राजेश्वरी थापा २०७९ भदौ २६ गते १५:२९ मा प्रकाशित

सनातन धर्ममा पितृको स्थान सधै उच्च हुने गरेको छ। आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भनिने गरेको छ।

श्रीमदभागवत गीताको १२ औं अध्याय अन्तर्गतको बिसौं श्लोक अनुसार श्रद्धा भनेको वेद, शास्त्र, महात्मा र गुरुहरुको र अनि परमेश्वरका वचनमा प्रत्यक्ष र सदृश्य विश्वास गर्नु हो भन्ने मान्यता छ।

पौराणिक कथनलाई श्राद्दसंग जोड्दा, महाभारत कालीन समयमा भिष्म पितामहले आफ्ना बाबू सन्तनु महाराजलाई पिण्डदान गर्दा हातमा नदिइ पिण्ड सेलाएको मान्यताको आधारमा कलि युगमा देवता र पितृहरु प्रत्यक्ष नदेखिने हुँदा पिण्डबाट पितृतृप्त होउन भनि पिण्ड सेलाउने परम्परा छ ।

यस कृष्ण पक्षमा पितृहरूलाई प्रतिदिन जल तर्पण गरिन्छ र मृत्युतिथि समातेर श्राद्ध गर्ने गरिन्छ । आफ्ना परिजनहरूको मृत्युतिथि थाहा नभएको अवस्थामा समेत पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ।

अहिले पितृ पक्ष चलिरहेको छ र १६ दिने श्राद्ध पक्षमा सनातन धर्मीहरूले आफ्ना पुर्खाहरूलाई सम्झेर आत्माको शान्तिका लागि सबै वैदिक अनुष्ठान गर्छन्। तर धेरै कमलाई थाहा छ कि दानवीर कर्णको गल्तीले १६ दिने पितृपक्ष मनाइन्छ र कर्णकै कारणले पितृपक्ष मनाउने चलन सुरु भएको हो । पुराणका अनुसार पितृ पक्षमा दान र दानको विशेष नियम रहेको छ र यसको फल स्वर्गमा आत्माले प्राप्त गर्छ। दानवीर कर्ण आफ्नो परोपकारका लागि परिचित थिए र उनले आफ्नो जीवनभर गरिब र खाँचोमा परेकाहरूलाई पैसा र सुन दान गरे। आफ्नो दरमा आएका कसैलाई पनि पैसा नदिई फर्कन दिनुभएन तर कर्णले आफ्नो जीवनकालमा खाना दान गरेनन् ।

अन्तिम क्षणमा जब कर्ण मृत्युभूमि छाडेर स्वर्ग पुगे, उनलाई धेरै सुन र खानेकुरा दिइयो । कर्णले भगवान इन्द्रलाई यसको कारण सोध्दा देवराज इन्द्रले आफूले जीवनभर सुन दान गरेको र पितृको आत्माको शान्तिको लागि अरू कुनै दान नगरेकोले खाना नदिइएको बताए । त्यसपछि कर्णले यसबारे अनभिज्ञता प्रकट गर्दै मलाई अन्नदानको महत्त्व थाहा नभएको बताए ।

कर्णले आफ्नो गल्ती बुझेपछि आफ्नो गल्ती सच्याउन १६ दिनको लागि पृथ्वीमा पठाइयो । यी १६ दिनमा कर्णले आफ्ना पितृहरूलाई सम्झेर तर्पण गरे र भोका र गरिबलाई भोजन दान गरे र स्वर्ग गए। त्यसबेलादेखि पितृपक्ष १६ दिनसम्म मनाउने चलन चल्दै आएको र यस अवधिमा मानिसहरूले आफ्ना पुर्खाको सम्झनामा पर्वको आयोजना गर्ने जनविश्वास छ । साथसाथै पितृपक्षमा कोही भिक्षा माग्न आएमा कदापि रित्तो हात जान दिनु हुँदैन भन्ने कुरामा पनि ध्यान दिनु पर्दछ ।

एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गरेको देखिन्छ । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ।

सोह्र श्राद्दका विशेष तिथिहरू:

आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध – यस तिथिमा अविवाहित मृत्यु भएका परिजनहरूको श्राद्ध गरिन्छ छ। यसलाई कुमार पञ्चमी पनि भन्दछन्।

आश्वीन कृष्णपक्ष नवमी श्राद्ध – यो तिथिमा कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न गर्न उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन्।

आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध – यस तिथिका सन्यासी बनेका परिवारका व्यक्तिहरूको श्राद्ध गरिन्छ ।

आश्वीन कृष्णपक्ष चतुर्दशी श्राद्ध – यो तिथिमा अकाल मृत्यु भएको छ, जस्तै- दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि परिजनहरूको श्राद्धका लागि उपयुक्त मानिन्छ।

आश्वीन कृष्णपक्ष अमावस्या – यस तिथिमा कुनै कारणले श्राद्ध गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा कुलका सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ।

आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा – यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको नभएको र तिनको मृत्युतिथि पनि थाहा छैन भने मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ। यस तिथिका दिन श्राद्ध गर्नाले उनीहरुको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख-समृद्धिको प्राप्ति पनि हुन्छ।

सोह्रश्राद्धमा पितृकुल मातृकुलका तीन- तीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ।पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भुइँमा गर्नुपर्ने नियम छ। पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।

श्राद्दको लागि मुस्ताङको पवित्र कागबेनी:

सोह्र श्राद्ध र चैते दशै औसीमा श्रद्धालु भक्तजनहरुको ठुलो भीड मुस्ताङको पवित्र कागबेनीमा लाग्ने गर्छ, जहाँ वर्षेनी हजारौ भक्तजनले दिवंगत पितृको नाम श्राद्ध र तर्पण दिने गर्छन । दामोदरकुण्ड नदी मिश्रण भएको कालिगण्डकी र मुक्तिनाथबाट मिश्रण भएको नदीको संगम स्थललाई कागबेनी धाम भनिन्छ। कालिगण्डकी र मुक्ति गण्डकी मिश्रण भएको स्थानलाई कालिगण्डकी भनिन्छ। परापूर्व कालमा भुसेण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा तर्पण पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्दारका लागि श्राद्ध,तर्पण ,पिण्ड आदी दिने चलनको शुरुवात भएको मानिन्छ।

पौराणिक कालमा कागबेनी धाम वरपर ठुलो सरोवर थियो । एकदिन दुई वटा कागहरु त्यही सरोवरमामा खसेर मरे ।कुण्डमा खसेर मरेका दुई वटा कागहरु तुरुन्तै हंसको रुपमा प्रकट भएकाले कागबेनीधामलाई हंस तिर्थ पनि भनिन्छ । दैवीक शक्ति प्रकट भएकाले यस स्थानमा पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिदा पितृहरुको उद्दार हुने धार्मिक कथन समेत छ।

बाबा राजेश्वरी थापा
भिएना अष्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया