लुसुक्क सुताएर काखमा
बुवाले भन्नुभो…
ए ठुली,
लेले स्याउको गेडा
जगुले खान्छ
टाउको सुम्सुम्याउन थाल्नुभो,
ठूलो भएपछि
बडेमाको घर बनाउनू है
त्यो बाटेगरोमा
तेरो बाको यति धोको पूरा गर्नू है
यी हेर् त
माटोका डल्ला बोकीबोकी
त्यो गरो सम्याउँदा
कति बिघ्न टुटेका छन्
तेरा बाका अौंलाहरू
तँ चाहिँ धेरै पढ्नू नि……
बाका हात छामें मैले
रुनमात्र बाँकी ती हातहरू
फुट्नमात्र बाँकी परेलीहरू
हेरें
आँगनमा झरें
बाले टेकेको माटो समाएँ
फेरि काखमै गएँ
बाका आँखा पढें
धड्कन सुनें
घामले डढेको ख्याउटे अनुहारभरि हेरें
सोचें,
बाहरू किन भगवान् जस्तै हुन्छन्?
अनि छोराहरू किन बाजस्तै हुँदैनन्?
उत्तर पाउन कठिन भो
फेरि बाको कुसेगुन्द्री तानें
टुसुक्क बसें मझेरीमा
बाले दिनहुँ पूजामा हल्लाउने घन्टी
गुन्जाउने शंख
छोएँ
बुवाले जप गर्ने माला समातें
बुवाले हिंड्ने आँगनको बाटोमा
पाइला खोज्दैखोज्दै हिंडें
घरी एक्लै हिंडें
घरी बुवाका अौंला समाएर हिंडें
आगनछेउ बुवाले बनाएको मठमा पुगें
तुलसीको रहर लाग्दो बासना
बुवाको अत्यास लाग्दो सम्झना
यति नै खेर
नास्पातीले पात हल्लाउँदै भन्यो
नासपाती खान्छौ जगु?
फेरि बुवाको हात समाएँ
बुवाले टेक्ने लौरी उठाएँ
बुवाले भन्नुभो,
अब मलाई त्यो लौरीको के खाँचो
तँ ठुलो भइस् नि जगु
भुइँभरि झरेका आरुका पात हेरें
आकाशका तारा हेरें
रुन पनि गारो
छुन झनै गारो
बुवाका सपनाहरू
यत्रतत्र हुँदै कानमा गुन्जन्छन्
बुवाले अलिनो खाएका दुःखका गाँसहरू
घाँटीभरि अड्किन्छन्
आजभोलि
घरको ढोका खोल्दा बुवा सम्झिन्छु
बार्दलीको झ्याल बन्द गर्दा बुवा सम्झिन्छु
घन्टौं काममा रत्तिंदा बुवा बिर्सिन्छु
उज्यालोसँगै घर छोड्दा बुवा सम्झिन्छु
अँध्यारोसँगै घर फर्किंदा बुवा सम्झिन्छु
फगत
बुवाको हात हुँदैन
बुवाको साथ हुँदैन
रुन्छु र मुख धुन्छु
मुख धुन्छु र फेरि रुन्छु
ढोकाको चुक्कुल लगाउँछु
मनको चुक्कुल खुलै हुन्छ
फेरि सम्झिन्छु
झुक्किएर निद्रामा
बुवाको अौंला समाउँछु
बुवाको सुरुवाल समाउँछु
‘मिठी’ माग्छु
‘बुवा नास्पाती’ भन्छु
बुवाले खुवाएको खान आँ… गर्छु
बुवाले परबाट ल्याएको पापा माग्न हात फैलाउँछु
मुखमा नपर्दै ब्युँझिन्छु
र गहभरिका आँखा पुछ्छु
अनि भन्छु,
हे ईश्वर अरू केही चाहिंदैन
बस
मलाई मेरो बुवाजस्तै बनाइदेऊ ।
……………
…………
बुवाको साथ हुँदैन
बुवाको हात हुँदैन……
…………
बस सम्झिन्छु र रुन्छु
रोइरहन्छु……
-जगन्नाथ पौडेल, अमेरिका
प्रतिक्रिया