प्रदेश नं १ को पर्यटन लोगो सार्वजनिक

इनेप्लिज २०७९ भदौ ७ गते २२:३७ मा प्रकाशित

विराटनगर७ भदौ ।

प्रदेश नं १ को पर्यटन लोगो आज यहाँ सार्वजनिक गरिएको छ।

प्रदेश नं १ की पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्वुलाई पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठले ‘पृथ्वीको स्वर्ग मेरो प्रदेश’ भन्ने नारा लेखिएको प्रदेश नं १ को पर्यटन लोगो र ब्राण्ड हस्तान्तरण गर्नु भयो ।

मन्त्रालयले गत असार १५ गते पर्यटन ब्राण्ड र लोगो तयार गर्न श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले पर्यटन लोगोका साथै १४ जिल्लाको उत्पादनलाई दर्शाउने गरी पर्यटन नारा, ब्राण्ड र प्रतिवेदन गरेको हो ।

पर्यटन लोगोमा सगरमाथा देखि केचनाकवल तथा प्रदेशको पहिचानको रुपमा रहेको डाँफे, अर्ना र रेडपाण्डा लगायतको प्रतिक चिन्हहरु रहेका छन् ।

यसैगरी १४ जिल्लाको कृषि तथा अन्य उत्पादनहरुमा मोरङमा माछा, सुनसरीमा वेसार(हर्दि), झापामा सुपारी, इलामा चियापत्ति, पाँचथरमा अलैची, ताप्लेजुलुङ्गमा छुर्पि, धनकुटामा एभोकाडो, तेह्रथुममा ढाकाको कपडा, संखुवासभामा अल्लो, ओखलढुंगामा राढी, उदयपुरमा तेजपत्ता, खोटाङमा लौरो र भोजपुरमा खुकुरी पहिलो उत्पादनको रुपमा रहेका वस्तुहरु झल्किने चित्रहरु समेत समावेश गरिएको पर्यटन व्यवसायी श्रेष्ठले जानकारी दिनु भयो ।

पर्यटन लोगो प्रदेश मन्त्रिपरिषदले पास गरेपछि सार्वजनिकरुपमा प्रचार प्रसारमा आउने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया