शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:५३
वासिङटन डिसी 22:08

पहिले आफ्नै सपना साकार पार्ने हो कि?

नवीन रायमाझी २०७९ साउन १९ गते २२:१५ मा प्रकाशित

नेपालका करिब तीन करोड जनसँख्या मध्ये लगभग आधा नेपाली काँग्रेस पार्टीमा बिश्वास गर्ने हरु कथित महामानव वीपी कोइराला र आधा कम्युनिस्ट सिद्वान्त मा बिश्वास गर्ने हरु मदन भण्डारीको सपना साकार पार्ने उद्देश्य बिहिन दौडमा छन्। तर रोचक कुरा, यो अभियानमा लागेका धेरै कार्यकर्तालाई आफ्नै सपना के हो, त्यसको भने जानकारी छैन। उनीहरू वीपी र मदनको सपनाको कुरा गर्दा त्यसै पुलकित हुने गर्छन।

अहिले देशको बिडम्बना नेपालमा जन्मिने कुनै पनि व्यक्ति राजनीतिक रुपमा कि कांग्रेसको पुच्छर नसमाति बाच्न सक्दैन, कि ‘बर्खामा च्याउ उम्रे सरह’ नेपालमा जन्मिएका कम्युनिस्ट पार्टीको समर्थन बिना।

पूर्व राजा महेन्द्रलाई गाली गर्नु कुनै पनि नेता (?) को अतिरिक्त योग्यता हो। अंश लिएपछि आफ्नै बाबुआमालाई घरबाट निकाल्ने मानसिकता भएको हाम्रो समाजमा पूर्व राजालाई गाली गर्नु नौलो कुरा पनि भएन।

कांग्रेस र कम्युनिस्टबाहेक अरु दर्शनको कुरा गर्ने बितिकै त्यो मान्छे मण्डले हुन्छ। अरुलाई विभिन्न पदवी दिने यस्ता नेताहरूले यो हैसियत कहाँबाट कमाए, त्यो पंक्तिकारलाई थाहा हुने कुरा भएन।

तर, नेपालको आधुनिक इतिहासमा १ पुष २०१७ को दिन पञ्चायती व्यवस्थाको शुभारम्भ भएदेखि १७ माघ २०२८ मा राजा महेन्द्रको निधन नहुँदासम्म जति विकाशका पूर्वाधार नेपालमा खडा भए, त्यो जतिको आजसम्म भएको छैन, यदी इमान्दार भएर सोच्ने हो भने।कार्ल मार्क्सको बर्गबिहिन समाजको हावादारी सिद्वान्तभन्दा पूर्व राजा महेन्द्रको बर्ग समन्वय धेरै गुणा राम्रो थियो तर विदेशी शक्तिको आडमा त्यसलाई आन्दोलनको नाममा फाल्ने काम भयो, जो दुर्भाग्यपूर्ण थियो।

पञ्चायती व्यवस्थाको तीस बर्षमा कम्युनिस्टहरुको चरित्र सधै शंकाको घेरामा रह्यो। चुनावमा भाग लिने र जिते भने तलब भत्ता पनि थाप्ने तर हारे भने व्यवस्थालाई गाली गर्ने उनीहरुको चरित्र अच्चमलाग्दो देखिन्थ्यो।

जसको जति ठूलो बोके दारी छ, त्यो त्यति नै ठूलो नेता हुने कम्युनिस्टहरुको के गणित हो? त्यो आजसम्म कसैले बुझ्न सकेका छैनन्। कार्ल मार्क्स नामको प्राणीले यो देशको लागि के कस्ता योगदान दिएका छन् र उनको तस्वीर किन झुण्डाउनु पर्ने हो, त्यो पनि कसैले बुझेका छैनन्।

अमेरिकी राजदुतको भ्रमणको समय आफ्नो केन्द्रिय कार्यालयमा झुण्डेको मार्क्स र एञ्जल्सको तस्वीर निकालेर फाल्ने र राजदुत गएपछि फेरि झुण्डाउने नेपाली कम्युनिस्टको चरित्र पनि बुझिनसक्नु छ।

कार्यकर्ताको अगाडि अमेरिकालाई सम्राज्यवादी र भारतलाई विस्तारवादी भन्दै गाली गर्नै कम्युनिस्ट नेताहरु साँझ पर्यो कि यी दुबै देशको दुतावासमा छिर्ने र श्रीमतीको उपचारका नाममा यी दुबै देशको भ्रमण गर्दै शंकास्पद व्यक्तिसँग गोप्य वार्ता गर्ने चरित्र पनि बुझिनसक्नु छ।

नारायणहिटी हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्र शाहलाई दाम राखेर ढोग्ने र प्रधानमन्त्री बन्न बिन्ती पत्र हाल्ने माधब नेपालले हिजोआज कुन मुखले राजतन्त्रको बिरोध गरेका होलान? त्यो पनि कसैले बुझ्न सकेका छैनन्।

साढे सत्र हजार मान्छे मारेर नेता भएका प्रचण्ड र बाबुराम भट्टराईको पछाडि नेपाली जनता लागेको देख्दा स्वर्गीय गणेशमान सिंहले नेपाली जनता भेडा हुन्, त्यसै भनेका रहेनछन् भन्ने प्रष्ट हुन्छ।

आफू पहिलो राष्ट्रपति बन्ने लोभमा गिरिजाप्रसाद कोइरालाले जुन प्रकारले राष्ट्रघात गरे, त्यो आफैमा लज्जास्पद छ। उनले आफ्नै दाजु वीपीको टाढमा पनि छुरा रोपेका छन्।

प्रचण्डले राष्ट्रपति बन्न नदिएर उनलाई उनको जुन हैसियत देखाए, यसबाट दुःखी भएर उनको छिट्टै मृत्यु भयो। नेपाली कांग्रेस आफूलाई प्रजातान्त्रिक पार्टी भन्छ तर यो पार्टीमा नेताहरूबिरूद्ध बोल्ने ताकत कुनै कार्यकर्ताको छैन।

शीर्ष नेताबिरूद्ध जसले बोल्यो, त्यसको पत्ता साफ हुन्छ। वास्तवमा नेपाली कांग्रेसले तत्कालिन माओवादीको एजेण्डा बोकेपछि यो पार्टीको ऐतिहासिक पृष्ठभूमि समाप्त भइसकेको छ। अझ, एक शब्दमा भन्नुपर्दा, २०६२–६३ को आन्दोलनपछि नेपाल कांग्रेस पार्टी होइन, क्लब वा एनजीओमा परिणत भइसकेको छ।

राजाको शासनकालमा पेट फुट्ने गरि खाने डा सुन्दरमणि दीक्षित र देवेन्द्रराज पाण्डे अहिले गणतन्त्रवादी भएको देखेर ताज्जुब लाग्छ। उनीहरू नेपालका ठूला मानव अधिकारवादी पनि हुन्। यो मानव अधिकारवादी भनेको के हो र यो पद कसले प्रदान गर्ने हो? त्यो पंक्तिकारलाई जानकारी नभएको विषय हो।

यो पद स्वघोषित नै हुनुपर्छ। विदेशी शक्तिको बुई चढेर जसले जे तन्त्र भने पनि नेपालमा हिन्दु धर्मसहितको राजतन्त्र नै अपरिहार्य छ। यसको पक्ष र विपक्षमा बहस गर्नु भनेको मुर्खता हो।

यो आलेख पढेर कसलाई दुःख लाग्छ वा सुख लाग्छ, त्यो पंक्तिकारको रुचीको बिषय होइन। तर सबैले आफ्नो विश्वासको साथै फरक मतलाई पनि आदर गर्नुपर्छ।

आफूलाई मनपर्ने कुरा आयो भने ठिक छ भन्ने तर मन नपर्ने कुरा आयो भने बेठिक छ भन्नु सभ्यता होइन। आशा छ, सबैले यो कुरा मनन गर्दै मेरो विचारलाई पनि सम्मान गर्नु हुनेछ। जसले गर्नु हुनेछैन, त्यसलाई पनि हार्दिक धन्यबाद छ।

अन्तमा साउने सङ्क्रान्तिमा खाएको उधारो मासु को पैसा माघे संक्रान्ती मा सम्म तिर्न नसक्ने औकात भएका हरुले बि पी र मदन भन्डारीको सपना साकार पार्छु भनेर कुर्लिनु भन्दा आफ्नै सपना साकार पार्ने दौड मा लागे आफु, परिबार र समग्र मै देश को सपना साकार हुन्थ्यो

–नवीन रायमाझी

प्रतिक्रिया