विराटनगर, साउन । प्रदेश नं १ को नामाकरण चालु अधिवेशनबाटै गर्न सबै दलहरुवीच आज यहाँ सहमती भएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीद्वारा नामाकारणका सम्वन्धमा आयोजित सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुवीच संसदको चालु अधिवेशनबाटै प्रदेशको नामाकरण गर्न सहमति भएको नेताहरुले जानकारी दिनु भएका छन् ।
वैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख भण्डारी सहमतिबाटै नाम राख्न दलहरु सहमत भएको जानकारी दिनु भयो । उहाँले आगामी दिनमा यसरी नै छलफल जारी राख्ने सहमति भएको बताउनुभयो ।
मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा प्रक्रियामा लैजानुअघि निरन्तर छलफल गर्नुपर्ने दलहरुको निश्कर्ष रहेको सञ्चारकर्मीहरुलाई बताउनुभयो ।
उहाँले दलहरुले यसअघि प्रस्ताव गरेका नामको अडान छाडेर लचकता देखाउनुपर्ने विषयमा छलफल बढी केन्द्रीत भएको जानकारी दिनु भयो । मुख्यमन्त्री राईले आजको वैठक सकारात्मक रहेको छ भन्दै आगामी दिनमा सवैदलीहरुले आन्तरिकरुपमा पार्टी भित्र समेत छलफल गर्ने सहमती भएको जानकारी दिनु भयो ।
उहाँले पार्टीहरुबाट वैकल्पिक नाम ल्याउने समेत सहमती कायम भएको छ भन्दै अध्याधिक रुपमा यही संसदको अधिवेशनमा प्रदेशको नामाकारण टुङ्गीने विश्वास रहेको छ भन्नु भयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बैठकमा नेकांले प्रदेशको नामाकरणको प्रक्रिया तत्काल थाल्नुपर्ने बताउनु भयो ।
उहाँले प्रक्रिया शुरुगरेपछि सहमतिको विन्दुमा पुग्न सकिने आफुहरुको धारणा रहेको सञ्चारकर्मीहरुलाई जानकारी दिनु भयो । नेकाँ साझा पहिचानको पक्षमा रहेको बताउनु भयो ।
नेकपा एमाले नेताद्वय हिक्मतकुमार कार्की र जीवन घिमिरेले चालु संसदबाटै प्रदेशको नाम टुङ्याउन एमाले दृढ रहेको बैठकमा सोही अनुसार प्रस्तुत भएको बताउनुभयो ।
उहाँहरुले बैठकमा तुरुन्त प्रक्रिया शुरु गर्ने कि दलहरुवीच सहमति भएपछि मात्रै संसदमा लैजाने भन्ने विषयमा छलफल भएको जानकारी दिनु भयो । प्रदेशको राजधानी विराटनगर राख्न यसअघि दलहरुवीच साझा सहमति भए जस्तै नामाकरणमा पनि साझा मिलन विन्दु खोजेर जानेकुरा भएको बताउनु भयो ।
सर्वदलीय बैठकमा राप्रपा बाहेकका सवैदलको सहभागिता रहेको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।
प्रदेश सभा ९३ सदस्यीय रहेकोमा एमालेका सभामुख सहित ३९ जना, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी नेपालका (जसपा)का ३ र राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना सदस्य छन् । प्रदेशसभाबाट एमालेका २ जनाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका थिए भने माओवादी केन्द्रका एक सांसद पदमुक्त भएका थिए ।
प्रतिक्रिया