पाठकलाई तृप्त बनाउने“अतृप्ति’

इनेप्लिज २०७९ साउन ३ गते २१:५२ मा प्रकाशित

अतृप्ति –शाब्दिक अर्थ नअघाएको अवस्था । खाउँ खाउँ लाग्दा लाग्दै खानेकुरा सकिएको अवस्था । भोक नमेटिएको अवस्था । यहाँ निर चाहिँ “अतृप्ति’ उपन्यासकार मन्जु विमलीको गत बर्षमात्र प्रकाशित पुस्तकको शीर्षक । अतृप्ति मैैले पढेर भन्दा सुनेर आनन्द लिएको कथा हो । उपन्यासकार विमलीसँगको अनौपचारिक कुराकानीमा कथा सुनिसके पछि सोधेको पनि थिएँ –किन शीर्षकमा अतृप्ति छनौट भयो ? किन “नीलो सर्ट”छनौटमा परेन ? कथाले मागेको शीर्षक त नीलो सर्ट रहेछ । तर विगतमा अश्लिल जस्तो लाग्ने उपन्यास नीलो चोलीतर्फ यो शीर्षकले पाठकलाई लैजाला भन्ने डरले गर्दा नीलो सर्ट शीर्षक हुनबाट बन्चित भएको रहेछ । उता उपन्यासका पात्रको रहर पूरा हुन नकेर पात्र अतृप्त नै रहेकाले यो शीर्षक रहन गएको हो । साहित्यकार दम्पति मन्जु विमली र कृष्ण धराबासीसँगको विमर्शमा यो कुरा थाहा हुन आएको थियो । यस सम्बन्धमा यति नै ।

अतृप्तिले गाउँमा जन्मिए–हुर्किएका युवतीहरु जसले पडाई लेखाई,कामको खोजी, परिवारको जिम्मेवारी,पारिवारिक अन’शासनको नाममा अनाबश्यक रुपमा थोपरिएको संस्कारका विरुद्ध संघर्ष गरिरहदा उमेरसँगै बढ्दै गएका रहरहरु,चाहानाहरु,आफ्ना सहपाठी,सहकर्मी वा उस्तै उमेरका केटाहरुप्रतिको आकर्षण,मनोबैज्ञानिक उतार–चढाव,स्वभाविक रहरहरु र ती रहर पूरा गर्न परिवार र आफ्नै भविष्यको चिन्ता जस्ता विषयहरु बाधाका रुपमा अगाडि आउने र तिनीसँग संघर्ष गर्न पर्ने बिवसता अतृप्तिले देखाएको छ । आजको समाजको यथार्थ कथा हो अतृप्ति । लाखौं ग्रामिण युवतीको प्रतिनिधित्व गर्ने यस उपन्यासमा फरक मनोविज्ञान प्रदर्शन गर्न सक्नु उपन्यासकारको खुवीको रुपमा लिएको छु । यहाँ इन्दिरा र करुणा फरक स्वभावका पात्रहरु छन । इन्दिरा अलि बढी महत्वाकाँक्षी,केही कामुक,चाँडै रिसाउने अनि बैशालु स्वभाव पनि देखाउने चरित्रकी छिन भने करुणा आफ्ना भावनालाई लुकाइराख्न सक्ने र बहिनीको रक्षा कवज बनेर अभिभावकत्व देखाउने स्वभावकी छिन । बहिनीको अलि उत्ताउलो पन र तुरुन्त निर्णय लिन सक्ने स्वभावले करुणालाई चिन्तित बनाइरहन्छ । यता इन्दिरा भने एक पछि अर्को केटा साथी नजिक बनाउने र हतारमा निर्णय गर्दै फुर्सदमा पछुताउने स्वभावबाट ग्रसित छिन । यस्ता निर्णय गर्दा समाजले सजिलै नस्वीकार्ने अन्तरजातीय सम्बन्धले पनि इन्दिरालाई असजिलो बनाइदिने गरेको छ ।

नेपाली विषयमा स्नातकोत्तर गरेकी साहित्यकार मन्जु बिमलीको अतृप्ति उपन्यासमा पहिलो कृति भए पनि यस अघि कविता संग्रह र संस्मरण प्रकाशित भइसकेका छन । साहित्यकार विमली पूर्वकी चेली हुन । उनको जन्म तेह्रथुमको व्हाकुमा भएको हो । विद्यार्थी जीवनमा विद्यालय, विश्व विद्यालयले आफ्नो पाठ्यक्रममा राखेका कथाहरु रुपमति,नासो,बसाईं जस्ता कथाका पात्रहरुले सर्धै विमलीको दिमागमा छाप बसाइरहेका हुन्थे । यिनै पात्रहरुले उनलाई साहित्यतर्फ रुची बढाएको अतृप्तिको लेखकीयमा उनले उल्लेख गरेकी छिन । लेखक बन्न अन्तरमनदेखि जागरण,अध्ययन र वाताबरण पनि चाहिन्छ । अतृप्तिले विमलीलाई एक स्तरीय साहित्यकारको सींढीमा उकालीसकेको छ । यो स्तरलाई कायम राख्दै साहित्यकार विमलीले थप कृतिहरु प्रकाशित गर्दै जाने अपेक्षा आम पाठकले गरेका छन । साहित्यकार बिमली बरिष्ठ साहित्यकार कृष्ण धराबासीकी जीवन संगिनी भएकी हुदा घरायसी वाताबरण साहित्यानुकुल छ भन्न सकिन्छ ।

-बिष्णु शीतल

प्रतिक्रिया