रौतहट,रौतहटको एउटा नगरपालिकाले शिक्षामा चालिस प्रतिशटभन्दा बढी बजेट लगानी गरिरहेको देखिएको छ । रौतहटको मौलापुर नगरपालिकाले आफ्नो कूल बजेटको चालिस प्रतिशतभन्दा बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ । जिल्लाको १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चालिस प्रतिशत बजेट शिक्षामा लगानी गर्ने मौलापुर नगरपालिका नै रहेको छ ।
चालू आर्थिक वर्षमा नगरपालिकाको कूल बजेट ३६ करोड रहेकोमा नगरपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ६० लाख रुपैया विनियोजन गरेको थियो । नगरको कूल बजेटको ४०.५८ प्रतिशत बजेट शिक्षा क्षेत्रमा गएको नगरपालिकाका लेखापाल जयप्रकाश महतोले जानकारी गराएका छन् ।
विभिन्न विद्यालयको लागि जग्गा खरिद, भवन निर्माण, भौतिक तथा शैक्षिक सामग्रीको खरिद, कम्पाउन्ड वालको निर्माण, मर्मत तथा रंगरोगन, विद्यालयको सौन्दर्यीकरणमा पनि नगरपालिकाले ठूलो लगानी गरेको छ ।
मौलापुर नगरपालिकाले दर्जनाँै शिक्षक नियुक्त गरेको छ । नगरपालिकाले दरबन्दी सिर्जना गरी आफ्नै स्रोतबाट शिक्षक नियुक्तिका लागि अहिले ३५ शिक्षकको लागि विज्ञापन माग गरेको छ । आफ्नै स्रोतमा दरबन्दी सिर्जना गरी नगरपालिकाले भर्नाको प्रक्रिया अगाडि बढाएको ३५ मध्ये माध्यमिक तहका लागि २२ शिक्षकको माग गरेको छ ।
नगरपालिकामा विद्यालय नै अपुग रहेको र विद्यालय अपायक ठाउँमा रहेको अवस्था हेरी दुई विद्यालयलाई मर्ज पनि गरिसकेको छ भने केही विद्यालय स्थापना पनि गरेको छ । नगरपालिका गठन हुँदा दुई माध्यमिक विद्यालय रहेको मौलापुरमा अहिले पाँच माध्यमिक विद्यालय पु¥याएको शिक्षा संयोजक चन्देश्वर साहले जानकारी गराएका छन् ।
भवन निर्माण, प्रयोगशाला, खेलकूद सामग्री, शैक्षिक सामग्री, पाठ्यपुस्तक, बेन्च डेस्क, सरस्वती पूजा, परीक्षा संचालन, जमिन खरिद, प्राविधिक शिक्षा संचालन, संस्थागत अनुदान, साक्षरता अभियान, प्रौढ शिक्षा र नगरपालिकाले दरबन्दी सिर्जना गरी शिक्षक नियुक्ति गर्दा तलब भत्ता र छात्रवृत्तिमा गरी नगरपालिकाले आफ्नो बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्च गर्दै आएको नगर प्रमुख रिनाकुमारी साहको भनाइ छ ।
समाजको विकासको लागि सबैभन्दा बढी शिक्षाको विकास जरुरी रहेकोले मौलापुर नगरपालिको शिक्षा र यससँग सम्बन्धित सबै पक्षमा लगानी गरिरहेको नगर प्रमुख साहको भनाइ छ । शिक्षाको भौतिक संरचना र शिक्षक व्यवस्थापन नभई गुणस्तरीय शिक्षा सम्भव नभएकोले मौलापुर नगरपालिकाले शिक्षामा ठूलो लगानी गरिरहेको नगर प्रमुख साहको दाबी छ ।
आफ्नै लगानीमा मौलापुर प्राविधिक शिक्षालय संचालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षालाई एकातिर निशुल्क र अर्कोतिर गुणस्तरीय बनाउन खोज्दा सबैभन्दा बढी र नगरपालिकाको धेरै रकम शिक्षामा निरन्तर लगानी भइरहेको नगर प्रमुख साहको दाबी छ । शिक्षामा निरन्तर भइरहेको ठूलो रकम लगानीको प्रतिफल पनि देखिने विश्वासमा आफू रहेको नगर प्रमुख साह बताउँछिन् ।
छात्रालाई साइकल वितरणदेखि ल्यापटप वितरणसम्मको कार्यक्रम सुरुआत गरेको मौलापुर नगरपालिकाले नगरस्तरको विभिन्न शैक्षिक तथा बौद्धिक प्रतियोगिताहरु पनि संचालन गर्दै आएको छ ।
सरकार भएर पनि शिक्षामा सुधार गर्न खासै बजेट नछुट्याउनेहरुको लागि मौलापुरले गर्दै आएको काम धेरैको लागि उदाहरण बन्न सक्ने देखिन्छ ।
प्रतिक्रिया