बिद्यार्थीको अधिकार

अरुणबहादुर खत्री “नदी” २०७९ असार ३० गते १०:२२ मा प्रकाशित

 

म बसमा चढेपछि कण्डक्टरले यात्रुहरुसँग भाँडा उठाउन थाल्यो ।

मैले दसको नोटसँगै मेरो विद्यार्थी परिचयपत्र निकालेर दिएँ ।

‘यो तपाईको कार्ड ? तपाई त शिक्षक हो, कहाँबाट विद्यार्थीको परिचयपत्र देखाउँदै हुनुहुन्छ ?’ कण्डकटरले भन्यो ।

‘क्याम्पसको विद्यार्थी हुँ, त्यसैले परिचयपत्र देखाएको हुँ ।’ मैले भनेँ ।

‘तपाई मेरा छोराको शिक्षक हो । तपाईलाई मैले छोराको स्कूलमा देखेको छु ।
शिक्षकले विद्यार्थीको परिचयपत्र देखाएको राम्रो भएन ।’

‘तपाईले भनेजस्तो म शिक्षक पनि हुँ र विद्यार्थी पनि हुँ । म उच्चशिक्षा हासिल गर्नका लागि सधैं क्याम्पस पढ्छु । सधैं क्याम्पस पढेपछि म विद्यार्थी भइन ?’ मैले सोधेँ ।

त्यसपछि उनी नाजवाफ भए ।

-सामाखुसी मार्ग, काठमाडौं ३

 

प्रतिक्रिया