निर्देशक बोहराको ‘हेल्लो जिन्दगी’ ले कोलकतामा जित्यो आउट स्ट्याण्डीङ एचिभ्मेन्ट अवार्ड

इनेप्लिज २०७९ असार २७ गते ११:४८ मा प्रकाशित

 

काठमाडौं,२७ असार ।

‘हेल्लो जिन्दगी’ फिल्मले भारतको कोलकतामा हालै सम्पन्न रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा ‘आउट स्ट्याण्डीङ्ग एचिभ्मेन्ट अवार्ड’ जितेको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत र बिक्रम डि. जोशीद्धारा निर्मित तथा अभिनीत फिल्मले केही साता अघि गान्तोकमा सम्पन्न १६ औं संस्करणको गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड समेत जितेको थियो ।

भारत,युके,जापन,इजिप्ट,ताइवान,क्युवा,टर्की,इन्डोनेसिया,स्पेन,अष्ट्रेलिया,चिनलगायत थुप्रै देशका फिल्महरुले प्रतिस्पर्धा गरेको अवार्डमा आफू निर्देशीत ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म बिधाकम अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिएका छन् । मासिक रुपमा आयोजना हुदै आएको अवार्डमा ‘हेल्लो जिन्दगी’ जून महिनाको बिजेता भएको हो । मासिक बिजेता फिल्महरु स्वतः बार्षिक प्रतिस्पर्धामा छनौट हुने प्राबधान अवार्ड आयोजक संस्थाले गरेको छ ।

अभिनेता तथा निर्मात जोशीले आफ्नो फिल्मले एकपछि अर्काे अन्तराष्ट्रिय अवार्ड जित्दा खुशी लागकोे प्रतिक्रिया दिएका छन् । उनले अवार्डले आफूलाई फिल्म निर्माण र अभिनयमा अझ प्रेरित गरेको बताएका छन् । निर्देशक बोहराले आफ्नो मिहीनेत, सोच र प्रस्तुतिले पुरस्कार पाउदा खुशी लागेको बताए । हाल अमेरिका निवासी बोहरा केही समयमै स्वदेश आइ नयाँ फिल्म निर्माण गर्ने तयारीमा छन् ।
गत चैत्र १८ गते देशभर प्रदर्शन भएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसाईं,बिक्रान्त बस्नेत,विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् ।

युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । निर्देशक बोहराकै कथा,पटकथा र गीत रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई नेपालमा आरआर फिल्मस्ले बितरण गरेको थियो ।

 

प्रतिक्रिया