त्रिभुवन पार्क थानकोटमा निजामती कर्मचारीको पिकनिकमा पुगेर चिया खान नपाउदै वैशाख बाह्र गतेको दिन विनाशकारी महाभूकम्प आउदा हामीहरु तर्सियौ । आ–आफ्नो घरतिर के भयो होला भनेर सबैजना चिन्तित भयौ । मोबाइलबाट घरमा फोन गर्दा फोन पनि लागेन । पाँच महिना अघि मेरो आमाको निधन भएको थियो । आमाको निधन भएको वर्षदिन पुरा नहुदा आफू पिकनिकमा गएको हुंदा खाना खान नजुराएको हो कि भन्ने मेरो मनमा लाग्यो । पिकनिकको खानालाई छाडेर घर फर्कियौ ।
त्रिपुरेश्वरसम्म गाडीमा फर्के । त्रिपुरेश्वरबाट हिँड्दै घर जादै गर्दा सुन्धाराको ऐतिहासिक धरहरा ढलेको देखेर मेरो मन रोयो । घर पुगेपछि घरका परिवार सबैजना सकुशल भएको खबरले खुसी भए । त्यस दिन भूइचालो फेरि फर्किन्छ कि भन्ने सोचेर घरभित्र पस्न सबैलाई डर लाग्यो त्यस दिन केही खान नपाएर म भोकै परे ।
एक हप्ताजति घर नजिकैको छिमेकीको खाली जग्गामा पाल हालेर सुत्यौ । पाल हालेर सुत्दा निद्रा लागेपनि घरमा चोर आउने हो कि भन्ने पिरले राम्ररी सुत्न सकेनौ । भूइचालो आउदा डर त्रासले गर्दा हाम्रो मन रोए पनि चोरहरु रमाए होलान् यही मौकामा हामीले घर घरमा चोर्न जाने भनेर । एकदिनको कुरा हो बेलुकीको नौ बज्दै गर्दा हाम्रो घरबाट नजिकैको एउटा घरमा चोर पसेर केही सामान चोर्दै गर्दा प्रहरीले समात्न सफल भयो । यस्तै अर्को साँझ हाम्रो घर अगाडिको सडकको ठूलो पाँच तले घरको घरधनीले भूकम्पको डरले घरको पूरै कोठामा तालाबन्दी गरेर अन्तै खाली ठाउमा बेलुकीको खाना खाएर हिँडेपछि अपरिचित दुईजना व्यक्तिहरु घरको मूलगेटलाई नाघेर भित्र पसेको केही व्यक्तिले देखेपछि चोर आयो भनेर कराउदा त्यस घर बाहिर ठूलो भिड लाग्यो र तुरुन्तै प्रहरीलाई फोन गरेर बोलायौ प्रहरी आएर ति अपरिचित व्यक्तिलाई पक्रनको लागि भित्र पसे । त्यस घरभित्र प्रहरी आएको थाहा पाएर ति अपरिचित व्यक्तिहरु भ¥याङ्क मुनी केही नबोलीकन लुक्न सफल भएछन् तर प्रहरीले भित्र त कोही पनि देखिएन भनेर बाहिर निस्के ।
प्रहरी आफ्नो बाटो फर्केपछि ति अपरिचित व्यक्तिहरुले कोठाको ताल्चा फोडेर महंगा गतिला सामानहरु बोकेर आफ्नो बाटो लागेछन् । भोलिपल्ट बिहान घरधनी उठेर आफ्नो घरमा आएर मूलढोकाबाट घरभित्र छिर्न नपाउदै कोठाको ताल्चा फोडेको देखेर आश्चर्य मान्दै यस्तो महाविपत्तीमा पनि मानवीयता र आफू पनि एकदिन मर्नुपर्छ भन्ने एक रत्ति पनि सोच नभएका मान्छे पनि यस समाजमा हुने स्पष्टता भएकोले आफ्नो थैलीको मुख बलियो बनाउनु पर्ने रहेछ भन्दै टोल छिमेकका मिलेर सामूहिक गस्ती गर्ने निधोमा पुगे र भने जेसुकै भए पनि यस्तो विनाशकारी भूकम्पमा पनि बाँच्न पाएकोमा धन्य प्रभु ।
सामाखुसी मार्ग, ९३५÷५४, काठमाडौं
प्रतिक्रिया