निजी क्षेत्रलाई रासायनिक मल कारखाना स्थापनामा सहयोग गर्ने– मुख्यमन्त्री राई

इनेप्लिज २०७९ असार १६ गते २३:११ मा प्रकाशित

विराटनगर,१६ असार । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापनामा गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारण सभाको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको कृषि उत्पादनमा वृद्धि गर्नका लागि अन्य उद्योग सरह मल उद्योग स्थापनामा सहज व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री राईले राष्ट्रियताको लागि मुलुक आर्थिक रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्र लगायत सबैसँग हातेमालो गरि सरकार अगाडि वढ्ने धारणा राख्नु भयो ।

उहाँले उत्पादन, पूँजी विकास र राजश्व सब्कलनमा निजी क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै वर्तमान अवस्थामा राज्य शासक होइन व्यवस्थापनको भूमिका निर्वाह गरिरहेको र मुलुकको समृद्धिमा निजी क्षेत्रको भूमिका वृद्धि भइरहेको बताउनु भयो ।

मुलुकको तीन खम्वे अर्थतन्त्रमा निजी क्षेत्रलाई साझेदारीको रुपमा राखिएको चर्चा गर्दै उहाँले सरकारले ऐन कानूनमा सहजता, शान्ति सुरक्षा र पूर्वाधार उपलव्धताले लगानी मैत्री वातावरण भएकोले उद्योगीहरुलाई लगानी गर्न आग्रह गर्नु भयो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आबवोले सङ्घीयतालाई संस्थागत गर्न उत्तरदायी भएर परिवर्तनकारी सङ्घीय र प्रदेशको बजेट आएको छ भन्दै यसमा निजी क्षेत्रको अधिकांश सुझाव समेटिएको र सहज स्विकार्य भएकोमा खुशी व्यक्त्त गर्नु भयो ।

उहाँले संसदमा विचाराधिन रहेको बजेटको सम्वन्धमा उद्यमीहरुले आन्दोलन गर्नु गैर जिम्मेवारी रहेको चर्चा गर्दै महँगो विद्युतीय सवारी साधनमा भन्सार वृद्धि गरिएको र गरागराबाट चोरी तस्करी हुने कार्यलाई नियन्त्रण गर्न चकलेटमा भन्सार कम गरिएको उहाँले स्पष्ट पार्नु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विप्रेषण र राजश्वको आधारमा मुलुक दिगोरुपमा सञ्चालन हुन नसक्ने बताउँदै स्वदेशी कच्चा पदार्थ प्रयोग हुने उत्पादनशील उद्योगलाई आवश्यक सहयोग गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले प्रदेश सरकारले वाणिज्य पूर्वाधार लगानीले यस क्षेत्रमा निजी क्षेत्रलाई उद्योग व्यापार स्थापनामा सहयोग पुगेको विचार राख्नु भयो ।

मोरबका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कृषि क्षेत्रमा यान्त्रीकरण, व्यवसायीकरणले उत्पादन वृद्धि हुने चर्चा गर्दै भारतको वथनाहावाट विराटनगरको वुधनगरसम्म चाँडै सञ्चालन ढुवानी रेलसेवाबाट औद्योगीकरणमा मद्दत पुग्ने बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले केही बर्ष अगाडि सुनसरी मोरब औद्योगिक क्षेत्र केन्द्रको रुपमा रहेकोमा वर्तमान अवस्थामा चौथो स्थानमा पुगेकोमा चिन्ता व्यक्त्त गर्दै किसानलाई समयमा रासायनिक मल प्राप्त गर्नका लागि निजी क्षेत्रलाई मल आयात अनुमति दिंदा कुनै विकृति नआउने प्रष्ट पार्नु भयो ।

उहाँले मुलुक आगामी दिन आर्थिक रुपमा चुनौतीपूर्ण हुने बताउँदै राष्ट्रप्रति जिम्मेवारी रहदै निजी क्षेत्रले यसको समाधानका लागि आवश्यक सुझाव दिएको जानकारी दिनु भयो ।

सङ्घका प्रदेश अध्यक्ष टिकाराज ढकाल,सङ्घका केन्द्रीय उपाध्यक्ष अन्जन श्रेष्ठ, केन्द्रीय सदस्यद्वय अविनास वोहरा, डिल्ली बस्नेत,पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकाल,पूर्व उपाध्यक्ष किशोर प्रधान,पूर्व प्रदेश अध्यक्ष नरेन्द्र खड्का, वागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ,लुम्वीनी प्रदेश अध्यक्ष श्रीकृष्ण शर्मा,उद्योग सङ्घठन मोरबका अध्यक्ष सुयश प्याकुरेल, भोजपुर जिल्ला अध्यक्ष कर्ण मोक्तान लगायतले राज्यले साना तथा ठूलो उद्योग स्थापनामा आवश्यक सहयोग एवं सहुलित प्रदान गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया