वास्तविकता

अरुणबहादुर खत्री “नदी” २०७९ असार १५ गते २३:३३ मा प्रकाशित

कवि राधाकृष्ण पत्रिका पसलमा उभिएर दैनिक पत्रिकाहरू पढिरहेका थिए । त्यसै बेला एकजना ठूलै नेता आइपुगे । पत्रिका पढिरहेका राधाकृष्णलाई देखेपछि नेताले सोधे— ‘कविजी, पत्रिका त पढ्दै हुनुहुन्छ, किनेर पढ्नुभएको हो कि फोकटमा ?’

‘देशमा दिनहुँ महंगी बढिरहेको छ । पत्रिका किनेर पढ्न पनि नसकिने भइयो । त्यसैले यसो हेरेको मात्रै हुँ ।’ राधाकृष्णले भने ।

‘तपाई कलम चल्ने कविहरूले यसै विषयमा लेखेर सरकारलाई घचघचाउनुप¥यो नि ! होइन र ?’ नेताले भने ।

‘कुरो त ठीकै हो । तर हामी साना मान्छेका कुरा कसले पो सुन्छ र ? बरु तपाई जस्ता नेताहरूले यस्ता कुरामा ध्यान दिनुप¥यो नि । तपाईहरू सधैं जनताका कुरा गरिरहनुहुन्छ । जनताका पिरमर्काका बारेमा बोले पो जनताले पनि पत्याउँछन् ।’

राधाकृष्णका कुराले नेता झस्किए । ‘तपाईले भनेको त ठीकै हो ।’ यसो भन्दै आफ्नै घरतिर लागे ।

‘क्या दनक दिनुभयो ।’ त्यहाँ उपस्थित जनसमूदायले राधाकृष्णलाई धन्यवाद दिए ।

प्रतिक्रिया