सङ्घीयतालाई बलियो बनाउन हामीसबै लाग्नु पर्छ–प्रदेश प्रमुख खापुङ्ग

इनेप्लिज २०७९ असार ५ गते १५:३१ मा प्रकाशित

विराटनगर, ५ असार । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले सङ्घीयता, संविधान र लोकतन्त्रलाई बलियो वनाउन हामीसबै लाग्नु पर्ने बताउनु भएको छ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीयताबाट स्थापित तीन तहको सरकारले गरेको कार्यबाट नेपाली जनताको जीवनस्तर वृद्धिहुनका साथै विकासको कामले गति लिएको धारणा राख्नु भयो ।

प्रदेश प्रमुख खापुङ्गले विश्वका विभिन्न देशमा ठूलठूला परिवर्तन ल्याउन सञ्चारकर्मीहरु को ठूलो भूमिका रहेको चर्चा गर्दै लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न पत्रकारहरुले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले सरकार सञ्चालनमा देखिएका कमीकमजोरीलाई सञ्चारकर्मी स्वस्थ आलोचना गर्नुपर्ने विचार राख्नु भयो ।

प्रदेश प्रमुख खापुङ्गले पत्रकार समाजको ऐना भएको चर्चा गर्दै सही र तथ्य परक समाचारसम्प्रेषण गर्न आग्रह गर्नु भयो ।

उहाँले सरकारले प्रदेशको नामाकारण सम्वन्धमा प्रकिया अगाडि बढाएको छ भन्दै यस सम्वन्धमा दलहरुवीच आवश्यक छलफल एवं सहमती कायममै टुङ्गोमा पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।

प्रदेश प्रमुख कार्यालयका सचिव तुलसीराम सुढाईले प्रदेश प्रमुख कार्यालयसम्म पुग्ने सडक कालोपत्रे तथा सभाकक्ष निर्माण गर्नका लागि प्रदेश सरकारलाई आग्रह गरिएको जानकारीदिनु भयो ।

प्रतिक्रिया