एमाले त पार्टी नै होईन, यो त एनजिओ हो : अमरेशकुमार सिंह (भिडिओसहित)

इनेप्लिज २०७९ असार ४ गते २:५३ मा प्रकाशित

काठमाडौं, ३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. अमरेशकुमार सिंहले आफूले आजसम्म कुनै पनि नेताको चाकडी नगरेको र भविष्यमा पनि नगर्ने दाबी गरे । उनले आफूले देखेको कुुरा भने बोल्दै आएको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई देश र जनताको लागि जे राम्रो लाग्छ, त्यही गर्ने र गर्दै आएको पनि बताए ।

आगामी निर्वाचनमा कांग्रेस एक नम्वरको पार्टी बन्ने पनि दाबी गरे । उनले अहिले भएका सबै दलहरुमध्ये कांग्रेस नै देश र जनताको लागि राम्रो रहेको सुनाए । उनले एमालेलाई पार्टी भन्न नमिल्ने जिकिर गरे । उनले भने,‘एमाले त पार्टी नै होईन नि, त्यो त एनजिओजस्तै हो । त्यसको आईडोलोजी नै छैन् । एमाले त ट्रेड युनियनजस्तै छ ।’ नेता सिंहले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तीनै जना नेता असफल भएको दाबी गरे ।

उनले देउवा, ओली र दाहाल सफल भएको भए देश सफल हुनेथियो भन्ने टिप्पणी गरे । उनले अब जनताले विकल्प खोज्न थालेको सुनाए । यसको पछिल्लो उदाहरण काठमाडौंका जनताले मेयरमा बालेन शाहलाई जिताएर देखाईदिएको सिंहको भनाई छ ।

उनले आगामी संघीय संसद्को निर्वाचनमा अब राम्रा व्यक्तिले चुनाव जित्ने सुनाए । उनले निर्वाचनमा दलहरु आ–आफ्नो चुनावी एजेण्डा लिएर जनतामा जानुपर्ने सुझाव दिए । उनले खिचडी कार्यक्रम लिएर जनतामा जान नहुने उनको भनाई छ । उनले नेपाली कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताए ।

 

प्रतिक्रिया