भाञ्जा भाञ्जीले खुत्रुके किनेको देखेर मामा र माइजूले खुत्रुकेमा हरियो नोट हालिदिएर उद्घाटन गरिदिनु भएको थियो । हरियो नोट देखेर भाञ्जा भाञ्जी साह्रै प्रसन्न भएका थिए । बाबु आमाले खाजा खान दिएको र चाडपर्वमा टीका लगाएर दिएका दक्षिणा समेत खुत्रुकेमा खसाल्न थालेका थिए ।
एक वर्षपछि मामा र माइजू आएकै दिन भाञ्जा भाञ्जीले खुत्रुके खोल्ने निधो गरे । मामा माइजूका हातबाट फोड्न पाए राम्रो हुने विचार गरे । उहाँहरुले नै खुत्रुके फोडिदिनुभयो ।
अचम्म भयो । खुत्रुकेमा एक दुईका डवल र केही मोहर मात्रै रहेछन् । नोट भने एउटा पनि रहेनछ । मामा माइजूले खसाली दिनु भएको हरियो नोट समेत गायब देखेर सबै चकित भए ।
खुत्रुके उल्टाएर हेर्दा पिधमा एउटा नोट छिर्ने प्वाल रहेछ । पछि बुझ्दा उनीहरुकै घरमा काम गर्नेले खुत्रुके फुटाई बेला बेलामा चोरेको थाहा भयो । त्यसैले जति पैसा हाले पनि भरिदो रहेनछ यो खुत्रुके । उनीहरुको धेरै पैसा जम्मा गरी आफूले चाहेको कपडा किन्ने सपना अधुरै रहयो ।
प्रतिक्रिया