सडकको पेटीमा हिँडिरहेको थिएँ । सँगै स्कुल पढेको साथीसँग भेट भयो । धेरै वर्षपछि भेट भएकाले दुवै जना खुशी भयौँ । सन्चो विसन्चो र पेशा व्यवसायका बारेमा कुराकानी भए ।
“जाऊ, चिया पिउँदै गफ गरौ ।” मैले भनेँ । उसले सहमति जनायो ।
होटलमा पसेपछि चियासँगै नास्ता पनि खायौँ । गफ गर्ने सिलसिलामा साथीले बोलेका कुराले मलाई आश्चर्य चकित बनायो । ऊ बोलीपिच्छे अपशब्द प्रयोग गरिरहेको थियो ।
मैले भनेँ, “तिमी स्कूलमा पढ्दा त निकै भद्र थियौ, अहिले कसरी यस्ता शब्द बोल्ने भयौ ?
”
“स्कूल पढ्दा खराब साथीहरुको संगतमा परेँ । पढाइ पनि बीचैमा छोड्नु प¥यो । साथीहरुको संगतले गर्दा अहिले पनि त्यो बानी छुटेको छैन । यस्ता शब्दहरु बोल्दिन भन्दा भन्दै पनि कहिलेकाहीँ मुखबाट फुत्किहाल्छन् ।” लामो सास फेर्दै उसले भन्यो ।
म केही बोलेको थिइनँ । उसैले भन्यो, “यस्तो बानीले निकै समस्या पर्छ । कहिलेकाहीँ घरमा समेत यस्ता शब्द फुत्किन्छन् । सरी है मित्र । अबदेखि मैले आफूलाई सुधार्छु ।”
+++
सामाखुसी, काठमाडौं
प्रतिक्रिया