नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

इनेप्लिज २०७९ जेठ २७ गते २२:५४ मा प्रकाशित

 

विराटनगर,२७ जेठ । विराटनगर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।

विराटनगर महानगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगिता विराटनगर–९ ठाकुरवाडीस्थित सरस्वती माविको खेलमैदानमा शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइराला शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनु भयो ।

उहाँले विद्यालयको पठनपाठनसँगै खेलकुदमा पनि लाग्न विद्यार्थीहरुलाई आग्रह गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई महानगरले पुरस्कृत गर्ने जानकारी दिनु भयो ।

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताउनु भयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प, लङजम्प लगायतका खेल समावेश गरिएको छ ।

महानगरभित्रका १३ विद्यालयका पाँच सय विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया