मोरंग ,२० जेठ । विराटनगर महानगरपालिकाले नाला सफा गर्ने कार्यलाई आजदेखि तीव्रता दिएको छ । वर्षा अगाडि विराटनगरलाई डुबानमुक्त बनाउने लक्ष्यका साथ नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको महानगरले जनाएको छ ।
महामनगरले पहिलो चरणमा ठूला नाला सफा गर्ने र त्यसपछि साना नाला सफा गर्ने गरी काम सुरु गरेकोे छ । महनगरका प्रमुख नागेश कोइरालाले वर्षा सुरु हुनु अगाडि नगरका सबै नाला सफा गर्न निर्देशन दिनु भएको छ।
उहाँले नाला सफा गर्नेे स्थलमै पुगेर आज आवश्यक निरीक्षण एवं अनुगमन गर्नु भएको छ। प्रमुख कोइरालाले सरसफाई शाखाका प्रमुख हिरालाल यादवलाई जतिसक्दो चाँडो महानगर क्षेत्रका सबै नाला सफा गर्न निर्देशन दिदै वर्षा सुरु हुनु अगाडि नै विराटनगरका सबै नाला सफा डुबान समस्या कम गर्नुपर्नेमा जोड दिनु भयो ।
हरेक वर्ष बाढी र डुबानका कारण नगरवासी पीडित हुँदै आएका छन् ।
विराटनगरको वडा नं ६ स्थित केशलिया रोडको नाला सफा गरिएको छ । नाला सरसफाई सुरु भएपछि स्थानीयवासीसमेत खुसी देखिएका छन् । विराटनगरलाई डुबानमुक्त बनाउन महानगरले सुरु गरेको कार्य प्रशंसनीय रहेको उनीहरूको भनाइ छ । उनीहरूले विराटनगरका सबैजसो वडामा नाला सफा गर्नुपर्नेमा जोड दिएका छन् ।
विराटनगर–६ का स्थानीय भोला यादवले महानगरले वर्षायाम सुरु हुनु अगाडि नै नाला सफा गर्नु सकारात्मक भएको प्रतिक्रिया दिए ।
“विगतमा वर्षा सुरु भएपछि मात्रै नाला सफा गरिन्थ्यो, तर यसपटक वर्षा सुरु हुनुभन्दा अगाडि नै नाला सफा गर्न सुरु गरिएको छ,” उनले भने, “क्षति भइसकेपछि राहत र उद्धारमा जुट्नुभन्दा समस्या आउनैनदिनु उचित हुन्छ ।”
गत वर्ष कात्तिक अन्तिम साता आएको बाढीले विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको थियो । त्यसभन्दा दुई वर्ष अघि पनि बाढी र डुबानका कारण विराटनगरका विभिन्न वडा डुबानमा परेको थियो । विशेष गरी केशलिया र सिंघियाको बाढी पस्दा विराटनगरका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेको छ ।
प्रतिक्रिया