हिम्मत (लघुकथा)

कोमल अधिकारी,टिकापुर,कैलाली २०७९ जेठ ९ गते १०:२६ मा प्रकाशित

मनपर्ने साथीको धारणा लिएँ,ऊ अन्कनायो, ऊ परीक्षण कालमा छ रे।एउटा भाइको पार्टीले बिरोध गरेको रहेछ, तर, उसले भन्ने कुरो निष्क्रिय बहिष्कारको ढाँचाको।अर्को भाइलाई यस सम्बन्धि सोधेँ,यो त अन्तर्राष्ट्रिय समस्या हो,कुरा गर्नुको कुनै अर्थ छैन,जे जस्तो हुन्छ खेप्दै जानुपर्छ।यसो सम्झेँ त्यो भाइको आम्दानी र उसको भनाइ ठिकै जस्तो लाग्यो। पसल गर्ने मित्रलाई यस सम्बन्धि सोच्ने फुर्सदै रहेनछ, किनेको मूल्यमा १० देखि माथि प्रतिशत जोड्यो बेच्यो अरू कुरामा बाल मतलब भने जस्तो गर्नुभयो,त्यति सोच्ने फुर्सद नै रहेनछ। तल्लो घरे भाइ भरखर चुनावको ह्याङमै रहेछन्,केही भको पत्तो नै रहेनछ।मैले भनेपछि जिताईएको छ,केही त गर्नुहोला नि नेताजीले। अहिले नै बिरोध गरेर वहाँको पार्टीलाई असहयोग गरेजस्तो होला। सामाजिक क्षेत्रमा काम गरेर चर्चा बटुलेका नागरिकका लागि जहिल्यै पनि मरिहत्ते गर्नेले त पक्कै बिरोधका योजना बनाएका होलान् भनेर फोनमा सोधेँ,के-के छन् त योजना?

उनले अनभिज्ञता प्रकट गरे र भने: “कस्तो योजना? अहिल्यै यस्ता काम नगरौँ,गठबन्धन सफल भईरहेको अवस्थामा..” पछि पो थाहा भो,वहाँ त गठबन्धनको एउटा दलमा प्रवेश गरेर चुनावमा जमेरै लाग्नु भा’ रछ।

“तेलको भुटुन नखाको आज एक महिना भो,छोई सक्नु छैन,लिटरको ४०० रे, फेरि ग्यासको १८०० रे,छोरा-छोरीलाई कापी किन्दिनु पर्ने।खै के गरि बाँच्ने?” ऋण काढेर किनेको भैँसीलाई घाँस काट्न भनेर आएकी छिमेकी रिता बहिनीको कुराले सायद मलाई ‘एग्रेसिव’ बनाउन र ‘क्लाईमेक्स’ मा पुर्‍याउन भूमिका खेल्यो र त शितल प्रकृतिको ममा पनि कहाँबाट हिम्मत आयो कुन्नि अनायासै मुखबाट निस्कियो: मूल्यबृद्धि गरेर मुठ्ठीभरलाई समाजवाद ल्याउने सरकार चाहिँदैन !!

—0—

प्रतिक्रिया