भनसुन

अरुणबहादुर खत्री “नदी” २०७९ वैशाख २९ गते ११:१७ मा प्रकाशित

 

रामचन्द्र कार्यालय सहयोगी पदमा कार्यरत थियो।सधैँ समयमै कार्यालय पुग्थ्यो।

कार्यालयमा पुगेपछि आफूले गर्नुपर्ने सबै काम गथ्र्यो।कुनै पनि काम भोलि गरुँला भनेर बाँकी राख्दैनथ्यो।उसले करिब पैतिस वर्ष सरकारी जागिर खायो तर पुरस्कार भने एकपटक पनि पाउन सकेन।

कार्यालय सहयोगी मधुकरचाहिँ चलाख थियो।ठीक समयमा कार्यालय पुग्दैनथ्यो।ध्यान दिएर काम पनि गर्दैनथ्यो।तैपनि बेला बेलामा पुरस्कार पाउँथ्यो।उसले पुरस्कार पाएको बेला अरुले खासखुस कुरा गर्थे,“यसका ससुरा सांसद छन् रे,त्यसैले भनसुनका आधारमा पुरस्कार पाएको होला!”

कहिलेकाहीँ रामचन्द्रलाई दिक्क लाग्थ्यो।मनमनै भन्थ्यो,‘जति इमान्दार भएर काम गरे पनि भनसुन नगरी यो देशमा प्रगति गर्न सकिँदैन।पुरस्कार पनि पाइँदैन।’

लामो सास फर्दै फेरि भन्थ्यो,‘भनसुन बन्द गरी इमानको करदर हुने भए देशको विकास पनि हुन्थ्यो होला।त्यसो भयो भने धेरैले मेहनत पनि गर्थे होलान्।तर खै यो देशमा भनसुन कहिले हट्ने होला!’

यस्तै कुरा सोच्दै थियो,घण्टी बजेको आवाज आयो।अनि ऊ दौडिँदै हाकिमको कोठातिर गयो।

-– अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं फोन नं.४३५३५९४

प्रतिक्रिया