चलचित्र ‘सत्यम’को शिर्ष गीत सार्वजनिक

इनेप्लिज २०७९ वैशाख २७ गते २३:११ मा प्रकाशित

काठमाडौं – घोषणा भएर समयमै छायांकनमा जान नसकेको चलचित्र सत्यम निर्माण टिमले आफ्नो चलचित्रको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ ।

राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा महानायक राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ भने अरु कुनैपनि कलाकारलाई देखाइएको छैन ।

चलचित्रका मुख्य अभिनेतामध्येका पल शाह एक घटनामा मुछिएपछि यो टिम छायांकनमा जान सकेको छैन।

निर्माता रेशम सापकोटाले पल शाहको घटनाको छानविन निष्कर्षमा नपुगेसम्म यो प्रोजेक्टको छायांकन प्रारम्भ गर्न कठिन रहेको प्रतिक्रिया दिए।

उनले बजारमा चलेको हल्ला अनुसार चलचित्र निर्माणबाट आफु पछि नहटेको समेत स्पष्ट पारे।

हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनैपनि कन्टेन्ट दिन सकेनौ भन्ने महशुस भयो,सोहि कारण यसको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौं,निर्माता सापकोटाले भने,–चलचित्रका लागि दर्शकको पर्खाइ अरु थप बढ्ने पक्का भएपछि यो गीत सार्वजनिक गरेका हौं।’

निर्माता सापकोटाले यस गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पुर्ण जानकारी गराउने समेत बताए।उनले भने,–‘प्रि–प्रोडक्सनको काम लगभग सकिएको छ।यसमा केहि सदस्य हेरफेर हुन पनि सक्छ।हामीले भिडियोमा टिमका म बाहेक अरु सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ।’

प्रि–प्रोडक्सनको सम्पुर्ण काम सकेको यो चलचित्रमा महानायक राजेश हमाल, पल शाह,अनुप विक्रम शाही,उपाशना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने यसअघिनै जानकारी सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया