“हैन् ,के भएको छ आजकल यसलाई ? धुम्म परेर बसिरहन्छे।त्यस्ती हँसिली, फूर्तिली मान्छे वैलिएको साग जस्तै भै छे।एकैछिन घर नबस्ने, खालि साथीहरुसँग घुमीरहने मान्छे अहिले घरबाट बाहिरै निस्कन्ने।”- छोरीको परिवर्तित व्यवहार बारे पद्मादेवीले पति जगदेवसँग गुनासो पोखिन्।
“खै साथीहरुसँग झगडासगडा पर्यो कि ? त्यस्ती मान्छे त हैन् यो।साथी भनेपछि त हुरुक्कै हुन्थी, फुरुक्कै फुर्किन्थी।म कुरा वुझ्छु नि त छोरीसँग।”- जगदेवले आश्वस्त पार्न खोजे पत्नीलाई।
“ए छोरी ! बाहिर आउ त एकैछिन्।”- बैठक कक्षबाटै छोरीलाई पुकारे।
निन्याउरो अनुहार लिएर, अल्छे पारामा छोरी कोठाबाट बाहिर निस्किन्।
“हैन् ,के भो तिमीलाई बिरामी जस्तै पो छ्यौ त ? त्यस्तो हँसिलो, चहकिलो मुहार किन वादल लागे जस्तै छ ? के भो ? कसैले केही नराम्रो भन्यो कि ? कलेजमा कसैले केही गर्यो कि ? नडराइ भन, कसलाई के गर्नु पर्छ ? मैले जानेको छु।”- छोरीको समस्या खोतल्ने प्रयास गरे उनले।
“हैन् बाबा, खास त्यस्तो त केही छैन् तर हजुर यस्तो सम्मानित, यत्रो ठूलो नेता भएर पनि आजकल के के भाषण गर्नुहुन्छ के के ? हजुरले बोलेका कुरा जब मिडियामा आउँछन् ,त्यसमा लेखिएका कमेन्टहरु पढ्नै नसकिने खालका हुन्छन्।तिनै कुराहरुले गर्दा साथीहरुले मेरो मजाक उडाउँछन्।मलाई त उनीहरुसँग मुखै देखाउन अप्ठ्यारो लाग्छ।त्यसैले चुनाव नसिद्धिउन्जेल म बाहिर जान्न।”
-मित्र ‘उराठी’ गौतमअमरपुर –गुल्मी, हालःतिलोत्तमा -२, रुपन्देही
प्रतिक्रिया