मेडिसिटी देखि मेडिसिटी (मेदान्त) सम्म

इनेप्लिज २०७९ वैशाख २६ गते २२:०५ मा प्रकाशित

 

घाँटीको समस्या त समाधान भयो । तर हामीसँगको मुख्य समस्या त अझै बाँकी नै थियो । न्युरोलोजिस्ट डाक्टरले भने अनुसार उसको सर्भिकल स्पाइनको एम आर आइ गरियो र भोलिपल्ट रिपोर्ट देखाइयो । भाग्यवस त्यो रिपोर्ट पनि नर्मल नै आयो । शुरु देखिको हिष्ट्री, नेपालमा गरिएका परिक्षणका रिपोर्ट ,अनि उताको रिपोर्ट, उसको स्वास्थ्य अबस्था सबै हेरेपछि त्यहाँको डाक्टरले यो भ्याक्सिनको असर हो भन्नुभयो। जुन कुरा मैले यहाँको डाक्टरलाई बारम्बार सोध्दा हो कि होइन भनेर विचार गर्न त के,मेरो कुरा सुन्न समेत चाहेका थिएनन्।आज मेदान्तमा गएर सबै परिक्षण गरेपछि त्यहाँको डाक्टरले भ्याक्सिनकै असर हो भनेर भन्नुभयो हुन त भ्याक्सिनको असर हो अथवा होइन भनेर जाँच्ने कुनै प्रविधि त बनिसकेको छैन,तैपनि विभिन्न किसिमका परिक्षण,उसमा देखिएको लक्षण अनि डाक्टरको अनुभवबाट यो कुरा भनिएको थियो सायद।थाहा छैन, यहाँ किन उक्त भ्याक्सिनलाई अमृत समान प्रमाणित गर्न खोजियो।अरुको लागि चाहे जतिसुकै अमृत बराबर भए पनि हाम्रो लागि त यो अमृत हुन सकेन,जुन कुरा यताका डाक्टरले बुझ्न सक्नु पर्थ्यो त्यसैले त फेरि पनि भन्छु कि हाम्रोमा बिरामीको पूरा कुरा सुनिईंदैन।

उसलाई देखिएको असर एकदमै कमलाई देखिने असर रहेछ । यस्तो असर सन्चो हुन लामो समय लाग्ने रहेछ । अनि उक्त डाक्टरले उसको कमजोरी हटाउनको लागि मल्टि-भिटामिन, सप्लिमेन्ट र अर्को एकथरी ओैषधी दिएर एक हप्तामा भिडियो कलबाटै जचाउने भनेर पठाउनु भयो।हामी चाहिँ आइसकेपछि एक दुई दिन उतै बसेर ओैषधी खाएर हेर्ने र म आफुलाई पनि जचाउनु पर्ने भएकोले एकहप्ता त्यतै बस्यौं।

एकदुई दिन त्यहाँको ओैषधी चलाएपछि उसको कमजोरी कम हुनुको साथै हातका ओैंलाहरु काम्न पनि कम भयो हामीमा फेरि खुशी पलाएर आयो । उसलाई निकै नै राम्रो भएकोले एक दुई ठाउँमा घुमियो पनि।अनि एकहप्ताको बसाइ पछि चैत्र २२ गते नेपाल फर्कियौं।

उसले नेपाल गएको भोलिपल्ट घर बसेर पर्सिदेखि स्कुल जान्छु भनेको थियो। उसको लगातार पढाइ छुटेको पनि अब त दुई महिना पुग्न लागेको थियो । हामी पनि अब छोरो स्कुल जान सक्ने भयो भनेर खुशी भयौं।तर बिडम्बना ! चैतको शुरुमा जस्तै यो पटक पनि निराश हुनु पर्‍यो । नेपाल आएको भोलिपल्ट देखि नै उसलाई फेरि कमजोरी महशुस हुन थाल्यो।ऊ फेरि उठ्न नसक्ने भयो । हातका ओैंलाहरु फेरि उसै गरि काम्न थाले।मन नलागे पनि म त्यो दृश्य हेर्न विवश भएँ ।थाहा छैन किन यसरी हामीमा पलाएको आशा पटकपटक निराशामा परिणत भएको छ?

क्रमश…

दुर्गा लोहनी

 

प्रतिक्रिया