सम्पूर्ण पालिकालाई ‘श्रमिक मैत्री’ बनाउने– नेता डा कोइराला

इनेप्लिज २०७९ वैशाख १८ गते १५:३९ मा प्रकाशित

विराटनगर,१८ वैशाख।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सम्पूर्ण पालिकालाई ‘श्रमिक मैत्री’ बनाउनु पर्ने बताउनु भयो।

नेपाल ट्रेड युनियन कांग्रेस मोरङद्वारा आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विराटनगरको मिल्सएरिको हडताली हाटमा आयोजित कार्यक्रममा उहाँले नेकां श्रमिकहरुको हकहितप्रति प्रतिवद्धता भएकोले विजयी हुने सम्पूर्ण पालिकामा श्रमिकहरुप्रति सम्मान गरिने विचार राख्नु भयो।

नेता कोइरालाले संविधानको रक्षा र लोकतन्त्रलाई वलियो बनाउन मुलुकभरीको पालिकामा सत्तामा सहभागी दलहरुवीच गठबन्धन गरिएको प्रष्ट पार्नु भयो।उहाँले गठबन्धन दलहरुको सहमतीमा वडास्तरमा स्वस्थ प्रतिस्पर्धा हुने विचार राख्नु भयो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विमलेन्द्र निधिले सङ्घीयता एवं गणतन्त्रलाई सफल कार्यान्वयन गर्न गठबन्धन दलहरुवीच चुनावी तालमेल गरिएको प्रष्ट पार्नु भयो।उहाँले विस २००७ देखि २०६२÷६३ सम्मको विभिन्न आन्दोलनको नेतृत्व गरी मुलुकमा परिवर्तनकारी भूमिका निर्वाह गर्ने नेकां भएकोले आसन्न पालिका निर्वाचनमा पहिलो स्थान प्राप्त गर्ने दावी गर्नु भयो।नेता निधिले मजदुरलाई सम्मान एवं रोजगार उपलव्ध गराउन एक्वद्धता व्यक्त गर्दै महानगरको सबै पदमा गठबन्धनले विजयी प्राप्त गर्ने दावी गर्नु भयो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा डिला संग्रौला, अमृत अर्याल र भीम पराजुलीले निजी क्षेत्रको सहभागितामा औद्योगिक नीति निर्माण गरि रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनु भयो।पूर्वमन्त्री महेश आचार्य, ट्रेड यूनियनका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतले मुलुकको आर्थिक समृद्धि कायम गर्न रोजगारीको अवसर वृद्धि गर्नुपर्ने आवश्यक्त्ता औंल्याउनु भयो।

विराटनगर महानगरपालिका नेकांबाट प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले महानगरपालाई भ्रष्टाचार शुन्य गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।यसैगरी उपप्रमुख पदमा जनता समाजवादी पार्टीका उम्मेदवार अमरेन्द्र यादवले गठबन्धनवाट मुलुकमा स्थायि शान्ति र सम्वृद्धि कायम हुने धारणा राख्नु भयो।यूनियनका मोरङ अध्यक्ष सुशिल कोइराला,नेकां प्रदेश कोषाध्यक्ष राजेश गुप्ता,कटहरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार देवराज चौधरी,पूर्व केन्द्रीय सदस्य हसन अन्सारी लगायतले पालिकालाई सुशासन कायम राख्न सबैले आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिनु भयो।

प्रतिक्रिया