विमान दुर्घटना संकटकालिन पूर्ण अभ्यास

इनेप्लिज २०७९ वैशाख १८ गते १०:०४ मा प्रकाशित

विराटनगर,१८ वैशाख।विराटनगर विमानस्थलमा आज विहान ठूलो आगो ठूलो मुस्लो सहितको धुँवा,वारुणयन्त्र र एम्वलेन्सको साइरनले यस क्षेत्र वरिपरि वस्ने नागरिकहरुलाई ठूलो दुर्घटना भएको आशंकाले त्रसित भएका थिए।

विराटनगर विमानस्थल नागरिक उड्ययन कार्यालयले आकस्मिक विमान दुर्घटना भएमा संकटकालिन योजना अन्तर्गत पूर्वकालिन पूर्ण अभ्यासमा वारुणयन्त्र र एम्वुलेन्सको आवाज थाहापाएर उनीहरुले सन्तोष महशुस गरेको थिए।

विराटनगरवाट उडान भरेको विमान आकाशमा चरासँग ठोक्किदा पुनःविराटनगर आकस्मिक अवतरणको क्रममा भएको दुर्घटनामा यात्रुहरुलाई उद्धार,उपचार,र अस्पतालसम्म पुर्याउने कार्यक्रमको पूर्व अभ्यास आज विमानस्थलमा गरिएको थियो।

उक्त पूर्व पूर्ण अभ्यासमा विमानका यात्रुहरुको जीवन रक्षा,उद्धार कार्यका लागि विमानस्थलको दुई थान वारुण यन्त्र,विभिन्न अस्पतालका छ वटा एम्वुलेन्स, चिकित्सक,स्वास्थ्यकर्मी,नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी,उड्डयन कार्यालयका कर्मचारीले सहभागी भएका थिए।

उक्त अभ्यासमा एउटा स्थानमा आगो लगाई एउटा वसलाई विमान बनाई सोमा रहेका यात्रुहरुको जीवन बचाउने,उद्धार गर्ने,आवश्यक उपचारका दिने सम्वन्धमा प्रयोगात्मक अभ्यास कार्य गरिएको थियो।

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दुर्घटनामा पर्ने यात्रुहरुको जीवनरक्षाका सवैको सहकार्य आवश्यक रहेको विचार राख्नु भयो।

विमानस्थलका कार्यालयका प्रमुख उत्सवराज खरेलले यस प्रकारको अभ्यासले आकस्मिक दुर्घटना हुंदा यात्रुहरुको जीवन रक्षामा सहयोग पुग्ने विचार राख्नु भयो ।

यस प्रकारको पूर्व पूर्ण अभ्यास प्रत्येक दुई÷ दुई बर्षमा काठमाडौ वाहिर विराटनगर,पोखरा,भैरहवा नेपालगञ्ग,धनगढी लगायतका विमानस्थलमा हुने कार्यालयका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिनु भयो।

प्रतिक्रिया