विराटनगर,१६ वैशाख।नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चारकर्मीहरुले निर्वाचन आचार संहिता पालन गर्नुपर्ने बताउनु भयो।
महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित निर्वाचन आचार संहिता तथा पत्रकार आचार संहिता विषयक अन्तरक्रियामा उहाँले आचार संहिताका पालना गरि स्वच्छ, निश्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न र समाजको विश्वास आर्जन गर्नुपर्नेमा जोड दिनु भयो।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन केन्द्रको सुरक्षाका लागि आधा घण्टा भित्र सेनाको पहुँच रहेको जानकारी दिदै आवश्यक सुरक्षा व्यवस्थाका लागि प्रदेश नं १ हेलिकप्टर तयारी अवस्थामा रहने बताउनु भयो।
उहाँले निर्वाचन शान्तिपूर्ण, निश्पक्ष र भयरहित सम्पन्न गर्न सुरक्षाका साथ साथै चार हजार १०० कर्मचारी खट्ने जानकारी दिनु भयो।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले आचार संहिता पालनावाट निर्वाचन धांधली रहित र निश्पक्ष हुने बताउनु भयो।
उहाँले मिडियाले अहिलेसम्म आचार संहिता उल्लंघनको उजुरी नपरेको चर्चा गर्दै विगतको भन्दा यस पटक दलहरुले आचार संहिता उल्लंघन कार्य न्यून रहेको बताउनु भयो।
महासङ्गका केन्द्रीय लेखा आयोगका संयोजक लेखनाथ न्यौपानेले निर्वाचन आचार संहितामा पत्रकारको सुरक्षालाई समेट्नु पर्नेमा जोड दिदै सञ्चारकर्मीले निर्वाचनको निश्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भयो।
महासङ्घका प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे र मोरङ अध्यक्ष सन्जिव खनालले स्थानीय प्रशासनले निर्वाचनको समाचार संकलनका लागि सहज व्यवस्थापन गर्नु पर्ने आवश्यक्त्ता औल्याउनु भयो।
सो अवसरमा सञ्चारकर्मीहरु मोहन मानन्धर,तारा आचार्य,विक्रम निरौला, वावुराम भण्डारी,अनिल श्रेष्ठ,पवन साह,सत्यनारायण शर्मा,व्रह्मदेव यादव लगायतले आचार संहिता र पत्रकार सुरक्षाका सम्वन्धमा जिज्ञासा राख्नु भएको थियो।
प्रतिक्रिया