क्यानेडियन नेवाः गुठि द्वारा नव बर्ष २०७९को उपलक्षमा “शुभकामनाआदान प्रदान कार्यक्रम” सम्पन्न

इनेप्लिज २०७९ वैशाख ७ गते ९:५३ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवाः गुठि ले नव बर्ष बि.सं.२०७९ को उपलक्ष्यमा हालै “शुभकामना प्रदान कार्यक्रम” आयोजना गरि मनाएको छ।कोभिद पछि सर्बसाधारणको प्रत्यक्ष्य सहभागितामा मनाईएको उक्त कार्यक्रममा बोल्नु हुदै गुठिका अध्यक्ष्य प्रकाश प्रधानले सम्पूर्ण महानुभाब हरुमा नवबर्ष २०७९को शुभोपलक्ष्यमा सुख,शान्ति,प्रगति र सुस्वास्थ्यको कामना गर्नु भयो।साथै उहाँले कोभिदका कारणले भर्च्युयल रुपमा मात्रै कार्यक्रम सिमित भैरहेको बेलामा पहिलो पटक सार्बजनिक रुपमा कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु हुदै महासचिब बिमल श्रेष्ठले गुठिले निकट भबिष्यमा नेपालभाषा प्रषिक्षण कार्यक्रम संचालन गरिने भएकोले इच्छुक महानुभाबहरुलाई सम्पर्कको लागि अनुरोध गर्नु भयो।कार्यक्रममा बोल्नु हुदै एभरेष्ट रिएल्टी लिमिटेडका संस्थापक तथा नेपाली समुदायका पुराना एबम घर जग्गा ब्यबसायका अग्रज मदन के.सी.ले शुभकामना ब्यक्त गर्नु हुदै क्यानेडियन नेवाः गुठिले संस्कृति प्रबर्द्दनमा एउटा अनुशासित संस्थाको रुपमा कार्य गर्दै आएको छ भन्नु भयो ।

गुठिको क्रियाकलाप बारे प्रकाश पार्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकजुले नेवाः संस्कृतिको संबर्द्दन गर्ने उद्देश्यले सन २००५मा स्थापित यस संस्था कालान्तरमा समुदायलाई सह्योग हुने कार्यक्रमको साथै क्यानेडियन बिस्वबिद्यालयहरु तथा संघ सस्थाहरुसंगको सह कार्यमा संस्कृति सबर्द्दन, मूलधार्मा सहभागिता तथा अनुसन्धानमुलक कार्य पनि गर्दै आएको जानकारी दिनु भयो।साथै गुठिलाई यो उँचाईमा पुर्याउन सहयोग गर्नु हुने सबैप्रति कृतज्ञता ब्यक्त गर्नुको साथै सहयोगको निरन्तरताको लागि अनुरोध गर्नु भयो।कार्यक्रममा गुठिका सांस्कृतिक सचिब सुरेन्द्र श्रेष्ठले कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सहयोग गर्नु हुने तथा प्रायोजन गर्नु हुने महानुभाब तथा संघ संस्थाहरु प्रति हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो।

कार्यक्रमको अन्त्यमा सांस्कृतिक कार्यक्रम अन्तरगत रंजना सैन्जु र डा.अमर सैन्जुले सितार तथा मुर्चुङ्गामा बसन्त धून प्रस्तुत गरेका थिए भने प्रिति कोजूले “सीर स्वाँया हेःकु” गीतमा आकर्षक नृत्य प्रस्तुत गरे।त्यसैगरी कृष्णा र करिशा महर्जनको जोडिले सोहि गीतमा रिमिक्स भर्सनमा मनमोहक नृत्य प्रस्तुत गरेका थिए।कार्यक्रममा गुठिका कार्यसमिति सदस्य राजेन्द्र महर्जनले आकर्षक धिमेय् नृत्य प्रस्तुत गर्दा दर्शकबर्गले पनि सहभागिता जनाए।कार्यक्रममा लक्ष्मण मुनि श्रेष्ठ,गोबिन्द घिमिरे,गीता पन्त ,प्रतिक प्रधान, प्रज्वल प्रधान, सुरेन्द्र लाल श्रेष्ठ,मिङमार शेर्पा,नरेश ताम्राकार,अनिल भट्टराई, प्रकाश प्रधान,रबिन हाडा,उत्तम माकजु लगायतले नेपालभाषा तथा नेपाली गीत प्रस्तुत गरेका थिए।

गुठिका जनसम्पर्क प्रमुख मिली राजभण्डारी तथा युबा स्वयमसेबक निष्ठा श्रेष्ठले संचालन गरेको सो कार्यक्रममा साना बालबालिकाहरु तथा अभिभाबकहरुले नेवाःपहिरन तथा गहना लगाएर सहभागिता जनाउँदा कार्यक्रम संस्कृतिमय भएको देखिन्थ्यो।

प्रतिक्रिया